एडीबीले दिने १५६ मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने सरकारको निर्णय
काठमाडौं, पुस १८ : सरकारले विद्युतीय ग्रीड आधुनिकिकरण आयोजनाको लागि एशियाली विकास बैंकबाट प्राप्त हुने १ सय ५६ मिलियन अमेरिकी डलर ऋण सहायता...
काठमाडौं, पुस १८ : सरकारले विद्युतीय ग्रीड आधुनिकिकरण आयोजनाको लागि एशियाली विकास बैंकबाट प्राप्त हुने १ सय ५६ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने भएको छ।
मन्त्रिपरिषद्को बैठकले विद्युतीय ग्रीड आधुनिकिकरण आयोजनाका लागि एशियाली बिकास बैंकबाट प्राप्त हुने अमेरिकी डलर १ सय ५६ मिलियन बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए।
यस्तै, बैठकले कर्णाली क्षेत्रका केही जिल्लामा सञ्चालनमा रहेको बाल पोषण संरक्षण अनुदान कार्यक्रम रसुवा, धनुषा, दैलेख, सल्यान, बारा, बैतडी, रुकुमपूर्व, रुकुम पश्चिम, रोल्पा, सप्तरी र कपिलवस्तु गरी ११ जिल्लामा थप गर्ने निर्णय पनि गरेको छ। बैठकले सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर भएको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय समेत गरेको छ। बैठकले प्राइभेट फर्म रजिष्टे«शन (तेह्रौ संशोधन) नियमावली २०७७ स्वीकृत गर्ने निर्णय गरेको मन्त्री गुरुङले बताए।
बैठकले संयुक्त अधिराज्यबाट यात्रा आरम्भ हुने अथवा संयुक्त अधिराज्य ट्रान्जिट भई नेपाल आउने यात्रुलाई आगमन रोक लगाउने सम्बन्धी कोभिड–१९ व्यवस्थापन केन्द्र निर्देशक समितिको निर्णय अनुमोदन गरेको पनि मन्त्री गुरुङले बताए।










-1791199439.jpg)
