प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न- तपाईंलाई पार्टीभित्र समस्या परेपछि देशलाई खाल्डोमा जाकिदिने?
‘प्रधानमन्त्रीजी तपाईंलाई पार्टीभित्र समस्या भयो भने यो समस्या देशको होइन, यो तपाईंको समस्या हो,’ देवले भने,‘ तपाईंलाईं पार्टीभित्र समस्यामा पर्ने अनि संसदमा आक्रमण गर्ने ? देशलाई खाल्डोमा जाकिदिने?’
काठमाडौं, पुस १७ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर देशलाई खाल्डोमा हाल्ने प्रयास गरेको आरोप लगाएका छन्।
राष्ट्रियसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद देवले प्रधानमन्त्री ओलीले आफ्नो पार्टीभित्र समस्या उत्पन्न हुनासाथ गैरसंवैधानिक तरिकाले संसद विघटन गरेको आरोप लगाएका हुन्।
‘प्रधानमन्त्रीजी तपाईंलाई पार्टीभित्र समस्या भयो, तपाईंलाई पार्टीभित्र कसैले काम गर्न दिएन। यो देशको समस्या होइन, यो तपाईंको समस्या हो। कि त तपाईंले पार्टीभित्र विश्वास कायम गर्न सक्नुपर्यो कि अल्पमतमा परेपछि राजीनामा दिएर अर्को नेता बनाउनु पर्यो,’ देवले प्रश्न गर्दै भने,‘ तपाईं तपाईंको पार्टीभित्र समस्यामा पर्ने अनि संसदमा आक्रमण गर्ने ? देशलाई खाल्डोमा जाकिदिने?’
उनले प्रधानमन्त्री ओलीका कारण देश ठूलो राजनीतिक दुर्घटनातर्फ गएको बताए। संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको बताउँदै उनले सर्वोच्च अदालतले गर्ने व्याख्यालाई कांग्रेसले स्वीकार गर्ने बताए।










-1791199439.jpg)
