Kathmandu Press

दीनानाथ शर्माले भने- नेकपा विभाजित हुँदा मुटु फुटेको अनुभव गरेको छु

‘पार्टी एकता भएर नेकपा बन्दा म सबैभन्दा खुसी थिए। नेपाली जनता खुसी थिए। नेपाली जनता खुसी भएकाले नै त्यो खुसी निर्वाचनमा प्रकट भएको थियो,’उनले भने,‘पार्टी विभाजन हुँदा मैले मुटु चिरिएको, फुटेको अनुभव गरेको छु।’
दीनानाथ शर्माले भने- नेकपा विभाजित हुँदा मुटु फुटेको अनुभव गरेको छु

काठमाडौं, पुस १७  :  सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रियसभा संसदीय दलका नेता दीनानाथ शर्माले आफ्नो पार्टी विभाजनको संघारमा रहेकाले विभाजित मानसिकताबाट उत्पन्न हुने विचार र अभिव्यक्ति आक्रोशपूर्ण नभई संयमित भएर राख्ने बताएका छन्। 

शुक्रबारदेखि सुरु भएको राष्ट्रियसभाको हिउँदे अधिवेशनमा दलका तर्फबाट सम्बोधन गर्दै उनले पार्टीभित्र आफूहरुबीच मन र सोच बाँडिएकाले राष्ट्रियसभामा त्यसको बाछिटा अवश्य पनि पर्ने बताए। 

‘हामी (नेकपा) का सांसदहरु विभाजित छौं। हाम्रा मनहरु बाँडिएका छन्। हाम्रा सोचहरु बाँडिएका छन्। हामी विभाजित भइसकेका छौं,’ उनले भने,‘विभाजित मानसिकताबाट उत्पन्न हुने विचार आक्रोशपूर्ण होइन संयमित, शिष्ट र भद्ररुपले आफ्ना अभिव्यक्त गर्नेछौं। राष्ट्रियसभाको गरिमा र गौरवलाई अगाडि बढाउने छौंँ।’ 

उनले पार्टी विभाजन हुँदा आफ्नो मुटु चिरिएको र फुटेको अनुभव गरेको बताए। ‘मेरो ५५–५६ वर्षको राजनीतिक इतिहासको अनुभव र अहिलेसम्मको यात्रामा पार्टी एकता भएर नेकपा बन्दा म सबैभन्दा खुसी थिए। नेपाली जनता खुसी थिए। नेपाली जनता खुसी भएकाले नै त्यो खुसी निर्वाचनमा प्रकट भएको थियो,’उनले भने,‘पार्टी विभाजन हुँदा मैले मुटु चिरिएको, फुटेको अनुभव गरेको छु।’

उनले अझै पनि पार्टी एकजुट हुने सम्भावना र समिकरण भए प्रयास गर्ने बताए। ‘हामी एक ठाउँमा हुने सम्भावना र समिकरणहरु छन् भने रसायणबाट जोड्नका लागि प्रयत्न हुनेछ,’उनले भने,‘हामी त्यसमा प्रयासरत रहौं।’

उनले पार्टी विभाजन कुनै सिद्धान्त र विचारका आधारमा नभई राजनीतिक आधारमा हुन गइरहेको बताए। ‘पार्टी विभाजन सिद्धान्त र विचारका आधारमा हुन भइरहेको छैन। विभाजन राजनीतिक कारणले मात्रै विभाजन हुँदैछ,’ उनले भने,‘जुन कुरा दु:खद् हो।’ 

शर्माले पार्टीभित्रको किचलोका कारण प्रतिनिधिसभा विघटन हुनु दु:खद् भएको बताए। 

प्रकाशित मिति: १६:५३ बजे, शुक्रबार, पुस १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्