ओली सरकार धेरै टिक्दैन, प्रचण्डको आन्दोलनप्रति समर्थन छ : मोहनविक्रम सिंह
काठमाडौं, पुस १७ : नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले सत्तासीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको असर नेकपालाई मात्रै नभएर सिंगो देशलाई पर्ने...
काठमाडौं, पुस १७ : नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले सत्तासीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको असर नेकपालाई मात्रै नभएर सिंगो देशलाई पर्ने टिप्पणी परेका छन्।
नेकपालाई फुटबाट बचाउन आफूहरुले धेरै पहल र जोड दिएको भएपनि प्रयास सफल हुन नसकेको उनको भनाइ छ। शुक्रबार काठमाडौंमा रिपोर्टर्स क्लब नेपालले आयोजना महामन्त्री सिंहले नेकपा फुटको पछाडि राजनीतिक वा संवैधानिक कारण नभएर नेताहरुबीचको अन्तरकलह नै मुख्य कारण रहेको दाबी गरे।
उनले भने,‘नेकपाको यो फुट अराजनीतिक प्रकारको छ, यसले देशलाई दीर्घकालीन असर पारेको छ, यसको पहिलो परिणाम संसद विघटन भयो। कोरोनाले मुलुकलाई दीर्घकालीन असर पारेको बेला र राष्ट्रियतामाथि गम्भीर संकट आएको बेला, नेकपा फुट्नु दुःखद् छ।’
उनले पछिल्लो समय राजावादीहरु प्नि सलबलाएको र उनीहरुको चलखेल सुरु भएकोले गणतन्त्र÷धर्मनिरपेक्षता र संघीयता पक्षधर शक्तिहरुबीच बलियो एकता आवश्यक रहेको बताए। उनले नेकपा फुटको प्रमुख कारण वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै भएको पनि दाबी गरे।
उनले ओलीले विधि र प्रक्रियालाई आत्मसात् नगरेको गुनासो पोखे। उनले पार्टीभित्र विधि र प्रक्रिया हुने, बहुमत र अल्पमत पनि ओलीले नअपनाएको आरोप लगाए। नेपालमा धेरै अन्तरकलह र राजनीतिक अस्थिरता सिर्जना गर्न विदेशी शक्तिहरु उद्धत रहेको पनि उनको भनाइ छ।
उनले नेपालमा अहिले भइरहेको राजावादीहरुको आन्दोलनमा बाह्य शक्तिको हात रहेको आरोप लगाए। उनले भने,‘राजावादीहरु आफ्नो शक्तिमा सडकमा आएका होइनन्। यसमा भारतको हात छ। भारतीय सत्तारूढ शक्ति नेपाललाई हिन्दूराष्ट्र बनाएर आफ्नो देशमा पनि प्रभाव पार्न चाहन्छ।’
प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको कारण आफ्नो पार्टीले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको उनले स्पष्ट पारे। र, सरकारविरुद्ध आन्दोलनसमेत सुरु गरिएको उनले जनाए।
उनले भने,‘हाम्रो शक्ति सानो छ, तर विचार र नीति भने स्पष्ट छ । सरकारविरुद्ध सुरु गरिएका आन्दोलनमा हाम्रो साथ र समर्थन छ। प्रचण्ड पक्ष, नागरिक समाजले सुरु गरेका आन्दोलनमा हाम्रो समर्थन हुन्छ।’ उनले ओली सरकार जनताको शक्तिको अघि धेरै दिन नटिक्नेसमेत दाबी गरे। उनले भने,‘ओली सरकार जनताको शक्तिसामू पराजित हुनेछ। प्रतिगमनकारी शक्ति अवश्य पराजित हुन्छन्।’
महामन्त्री सिंहले नेकपालाई आफूहरुले कम्युनिष्ट पार्टी नै नमानेको पनि स्पष्ट पारे।










-1791199439.jpg)
