प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेटमा छानिए काठमाडौं र ललितपुर
प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेटअन्तर्गत बाग्मती प्रदेशको छनोट खेलमा काठमाडौं र ललितपुर विजयी भएका छन् ।
काठमाडौं– प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेटअन्तर्गत बाग्मती प्रदेशको छनोट खेलमा काठमाडौं र ललितपुर विजयी भएका छन् । बिहीबार भएको छनोट खेलमा काठमाडौंले भक्तपुरलाई चार विकेटले तथा ललितपुरले त्रिभुवन विश्वविद्यालयको टोलीलाई २९१ रनले पराजित गरेको हो ।
काठमाडौंको मूलपानीस्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको भक्तपुरले ३३ दशमलव चार ओभरमा ९७ रन बनायो । ९८ रनको विजय लक्ष्य काठमाडौंले २३ दशमलव पाँच ओभरमा छ विकेट गुमाएर पूरा गर्यो । काठमाडौंका लागि जितेन्द्रसिंह ठकुरीले ३८, रविन जोशीले २७ तथा विभत्सु थापाले १६ रन बनाए ।
बलिङतर्फ भक्तपुरका सुवास खत्रीले चार तथा धिरज अधिकारीले दुई विकेट लिए । यसअघि ब्याटिङ गर्ने क्रममा भक्तपुरका लागि अदित सुवेदीले ३६, कृष कार्कीले २७ तथा सुवास खत्रीले १४ रन बनाए । बलिङतर्फ काठमाडौंका इशान पाण्डेले सात दशमलव चार ओभरमा २८ रन खर्चेर पाँच विकेट लिए । यस्तै सुमन उदयले तीन विकेट लिए ।
यसैगरी त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा बिहीबार नै भएको अर्को खेलमा आदिल खानको दोहोरो शतकको सहयोगमा ललितपुरले त्रिभुवन विश्वविद्यालयको टोलीलाई पराजित गरेको छ ।
टस जितेर ब्याटिङ रोजेको ललितपुरले ४० ओभरमा चार विकेट गुमाउँदै ३७५ रन बनायो । ३७६ रनको विजय लक्ष्य पछ्याउने क्रममा त्रिभुवन विश्वविद्यालयले २९ दशमलव चार ओभरमा ८४ रन मात्र बनाउन सक्यो । ललितपुरका लागि आदिल खानले १२१ बलमा १६ चौका र १५ छक्काको मद्दतमा २०१ रन बनाउनुभयो । यस्तै आशुतोष घिरायले ५८ बलमा १२ चौका र तीन छक्काको मद्दतमा ८३ रन बनाए ।
त्रिभुवन विश्वविद्यालयका लागि भने पृथु बाँस्कोटाले ४८ बलमा चार चौका र तीन छक्काको मद्दतमा ४३ रन बनाए । अन्य खेलाडीको खेल प्रदर्शन सम्झिनलायक रहेन । बलिङतर्फ ललितपुरका सुमित झाले चार तथा युनिस थापा र तिलक भण्डारीले दुई–दुई विकेट लिए ।











