पर्वतमा बढे यौनजन्य हिंसाका घटना
कुश्मा, पुस १६ : कोभिड–१९ बाट आक्रान्त भइरहेका बेला पर्वतमा महिलामाथि हिंसाका घटना दिनप्रतिदिन बढ्दै गएका छन्। अमानवीय र पाशविक घटना छताछुल्ल भएका छन्।
बालबालिका एवं महिलामाथिको हिंसालाई मानवअधिकारको मुद्दाका रूपमा सम्बोधन गर्न नसकिएका कारण पर्वतमा अघिल्लो वर्षको तुलनामा यो वर्ष बलात्कार तथा यौन दुर्व्यवहारका घटनामा वृद्धि भएका हुन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक पर्वतले सार्वजनिक गरेको तथ्याङक अनुसार बाल यौन दुराचारका घटनामा उल्लेखनीय वृद्धि भएका छन्।
सन् २०२० को जनबरीदेखि डिसेम्बरसम्म प्रलेखिकरण गरेको तथ्याङ्कअनुसार पर्वतमा बालयौन दुराचारका घटना मात्रै ११ वटा रहेका छन्। तीमध्ये पाँच बालिका यौन दुर्व्यवहारबाट पीडित भएका छन् भने ६ बालिका बलात्कार घटनाबाट पीडित भएका हुन्।
अघिल्लो अंग्रेजी वर्ष २०१९ को संकलित तथ्यांकअनुसार बालयौन दुर्व्यवहारका घटना सात, महिला बलात्कारका घटना चार, हत्याका दुई, बम विष्फोट १, घरेलु हिंसाका १० र भौतिक सम्पत्ति क्षतिको एक गरी २९ ओटा घटना अभिलेख गरिएको थियो।
यो अङ्ग्रेजी वर्षमा बालयौन दुव्र्यवहारका पाँच, बालिका बलात्कारका ६, महिला बलात्कारका एक, घरेलु हिंसाका १६, परिवारका सदस्यबाट हत्या एक, गैर न्यायिक गिरफ्तार चार र आत्महत्या दुरुत्सहानको एउटा घटना सार्वजनिक गरेको छ।
पर्वतको विहादी गाउँपालिकाका विभिन्न वडामा आफ्नै बाबुबाट तीन बालिका पीडित बनेका छन्। २०७६ पुसदेखि २०७७ पुस सम्मको इन्सेकको तथ्याङ्कअनुसार तीन वर्षीया बालिकादेखि १९ वर्षीया बालिकासम्म जन्मदिने बाबुबाट पीडित बनेका हुन्।