Kathmandu Press

मेडिकल कलेजले तिरेन भरतपुर अस्पताललाई तिर्नुपर्ने भाडा

चितवन,  पुस १५  : सरकारी अस्पतालको जग्गा भाडामा लिएको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले करोडौँ रुपैयाँ पुग्दासमेत रकम...
मेडिकल कलेजले तिरेन भरतपुर अस्पताललाई तिर्नुपर्ने भाडा

चितवन,  पुस १५  : सरकारी अस्पतालको जग्गा भाडामा लिएको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले करोडौँ रुपैयाँ पुग्दासमेत रकम तिर्न आनाकानी गरेको छ। भरतपुर अस्पताललाई तिर्नुपर्ने तीन करोड बढी रकम नतिरेको हो। 

अस्पतालका लेखा अधिकृत हरि लम्सालका अनुसार हालसम्म तीन करोड आठ लाख २५ हजार ९२५ कलेजले तिर्न बाँकी रहेको छ। महालेखा परीक्षकको कार्यालयले स्वास्थ्य विभागमार्फत कलेजबाट उठाउन बाँकी रहेको उक्त रकम असुली गर्न आफूहरुलाई ताकेता गरिरहेको उनले बताए। विसं २०६२ मा सम्झौता हुँदा प्रतिबिघा वर्षको रु एक लाख, प्रतिवर्ष थप सहयोग १५ लाख र हरेक वर्ष सो रकमको १० प्रतिशतले वृद्धि हुने भनी सम्झौता गरिएको छ।

कलेजले नौ बिघा जग्गा भाडामा लिएको छ। नियमित भाडा रु नौ लाख तिरे पनि थप सहयोग र बढेको रकम नतिरेर खप्टिदै जाँदा बक्यौता धेरै भएको हो। भरतपुर अस्पतालले आफ्नो परिसरमा १० धुर जग्गालाई मासिक झण्डै पाँच लाख भाडा लिँदै आएको छ। पुरानो सम्झौता भएकाले भारतीयलाई न्यून शुल्कमा जग्गा भाडामा दिएको भए पनि असुल हुन सकेको छैन। 

स्वास्थ्य विभागको आग्रहमा भरतपुर अस्पतालले पुरानो मेडिकल कलेजलाई रकम तिर्न पटकपटक ताकेता गर्दा पनि कलेजले अटेर गरेको लम्सालले बताए। महालेखा परीक्षकको कार्यालयले दुई करोड २० लाख २३ हजार ७७० बेरुजु देखाएको छ तर मेडिकल कलेजले सम्झौताबाहेकको रकम भन्दै तिर्न आलटाल गरिरहेको छ। 

कलेजका निर्देशक डा मनोहर प्रधानले नियमित भाडा तिरेको तर बेरुजुको नाममा तिर्न भनिएको सम्झौताबाहेकको रकम नतिरेको बताए। उनले  चक्रीय प्रणालीअन्तर्गत तिर्न भनिएको रकमका बारे अदालतमा मुद्दा परेकोसमेत जानकारी दिए। उनले भने, “यो वर्षको बाहेक सबै भाडा तिरिसकेका छौँ ।” 

भरतपुर अस्पतालको नाममा रहेको जग्गा कलेजलाई भाडामा दिने निर्णय गरेसँगै विसं २०५१ मा तत्कालीन शिक्षा, संस्कृति तथा समाजकल्याण मन्त्रालयले इन्टरनेशनल सोसाइटी फर मेडिकल एजुकेशनसँग सम्झौता गरेको थियो । सो सम्झौतापश्चात अस्पतालले नौ बिघा जग्गा ५० वर्षका लागि भाडामा दिएको हो । यसबीचमा अस्पताल र कलेजबीच विभिन्न मितिमा फरकफरक किसिमका सम्झौता हुँदै आएको अस्पतालले जनाएको छ । 

प्रदेशसभा सदस्यसमेत रहेका सोही अस्पताल विकास समितिका पूर्वअध्यक्ष विजय सुवेदी शुरुको सम्झौताबीचमा गएर परिवर्तन गरी भाडा घटाइएको भन्दै पुनः संशोधन गरेर बढाउनु पर्ने बताउँछन्। सम्झौताअनुसारको भाडासमेत नतिरेको भन्दै उनले समयसापेक्ष भाडा वृद्धि गर्नुपर्ने बताए।  आफू अध्यक्ष हुँदा यस विषयमा दबाब दिएको भन्दै उनले यो सम्झौता सङ्घीय सरकारले गरेकाले अहिले पनि सङ्घीय सरकारले नै भाडा वृद्धि गरेर पुनः सम्झौता गर्नुपर्ने सुवेदीको भनाइ छ। रासस

 

प्रकाशित मिति: १९:५५ बजे, बुधबार, पुस १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्