Kathmandu Press

रूपमा पार्टी, सारमा मोर्चा

केपी ओलीः ‘तपाईंको माओवादी केन्द्र सिद्धियो ।’
प्रचण्डः ‘तपाईंको एमाले पनि सिद्धियो ।’

एमाले र माओवादीकेन्द्रबीच एकीकरण गर्ने ....

रूपमा पार्टी, सारमा मोर्चा

केपी ओलीः ‘तपाईंको माओवादी केन्द्र सिद्धियो ।’
प्रचण्डः ‘तपाईंको एमाले पनि सिद्धियो ।’

एमाले र माओवादीकेन्द्रबीच एकीकरण गर्ने निर्णयपछि प्रधानमन्त्री निवास, बालुवाटारमा गत जेठ ३ गते नेकपाका दुई अध्यक्षहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको ठट्टा हो यो ।

ओलीले काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एकता घोषणासभालाई सम्बोधन गर्दा उक्त ठट्टा सुनाएका थिए । ओलीले भनेका थिए, ‘मैले प्रचण्डजीसँग त्यही जवाफ अपेक्षा गरेको थिएँ ।’
एमाले र माओवादीकेन्द्र सिद्धिएको  घोषणा गरेको आठ महिना पूरा भयो तर गुट व्यवस्थापनमै अल्झिएको छ नेकपा । गुट–उपगुटमा विभक्त नेकपा ‘रूपमा पार्टी’ भए पनि ‘सारमा मोर्चा’ जस्तो बन्न पुगेको छ । 

Hardik ivf

अहिलेको नेकपामा शीर्ष नेताका तीन गुट छन् भने मध्यम तहका नेताका छ गुट छन् । त्यसभन्दा तल जाने हो भने अनकौं गुट–उपगुट रहेका छन् । नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले अहिलेको नेकपा मोर्चाजत्तिको पनि क्रियाशील नरहेको बताउँछिन । ‘मोर्चा पनि निश्चित उद्देश्य पूरा गर्न बनाइन्छ । मोर्चाका नेतृत्व र उद्देश्य हुन्छन् । कहिलेसम्म गर्ने भन्ने ‘टाइमलाइन’ हुन्छ र त्यसको मूल्याङ्कन गरिन्छ’, झाँक्रीले भनिन्, ‘हामीले सात दलको मोर्चाको टाइमलाइन बनाएर आन्दोलन गरेका हैनौँ र ? मोर्चा कति प्रभावकारी भयो भन्ने हेर्न हामीले कत्तिको प्रभावकारी मुद्दा अघि सारेका छौँ भन्ने हुन्छ । यो मोर्चाजत्ति पनि क्रियाशील छैन ।’ 

पढ्नुस् रामकुमारी झाँक्रीसँग अन्तर्वार्ता : ‘नेकपा मोर्चाजत्ति पनि क्रियाशील भएन’

तीन महिनामा पूरा गर्ने भनिएको एकता नौ महिना लाग्दा पनि सकिएको छैन । बरु लम्बिदै गएको छ । दुई पार्टीबीच कानूनी रूपमा एकता भएको छ । केन्द्रीय कमिटी र संसदीय दल कानूनतः एक भएका छन् । तर, पार्टीमा भावनात्मक एकता छैन । उल्टो सिंगै पार्टी गतिहीन र दिशाहीन भएको यसका नेता–कार्यकर्ता बताउँछन् । 

आठ महिनाको अवधिमा सिंहदरबारस्थित संसदीय दलको कार्यालय एउटै बनाइएको छ । पेरिशडाँडास्थित माओवादी ‘हेडक्वार्टर’ विघटन गरी धुम्बाराही सारिएको छ । तर, तीन महिनाभित्र सम्पूर्ण एकता पूरा गर्ने भनिए पनि नौ महिना लाग्दा पनि यो काम अघि बढेको छैन । 
एमालेका चार लाख र माओवादीका तीन लाख गरी सात लाखभन्दा बढी सदस्य रहेको हिसाब नेकपाका नेताहरू सुनाउँछन् तर ‘एसिया महाद्वीपकै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी’ लाई नौ सदस्यीय केन्द्रीय सचिवालयले बन्दी बनाएको आरोप दलकै नेताहरूले लगाउन थालेका छन् । एमाले र माओवादी पार्टी एकताअघि ‘एकता संयोजन समिति’ मा रहेर काम गरेका नेताहरूलाई एकतापछि सचिवालयमा रूपान्तरित गरिएको हो । संसदीय मोर्चामा जिम्मेवारी नभएका नेकपा कार्यकर्ता पूर्ण रूपमा जिम्मेवारी बिहीन छन् । 

शीर्ष तहमा तीन गुट
नेकपाको केन्द्रीय सचिवालयमा अध्यक्षद्वय ओली र दाहाल, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा र महासचिव विष्णु पौडेल छन् । जसमा साविकको एमालेका छ जना र माओवादीकेन्द्रका तीन जना छन् । साविक एमालेका छ जनामध्ये पनि अध्यक्ष ओली निकट तीन जना र माधव–झलनाथ पक्षका तीन जना छन् । 

गत महिना बसेको स्थायी कमिटी बैठकले पार्टी एकतामा देखिएका विवाद अन्त्यका लागि प्रस्ताव तयार पार्न नौ सदस्यीय कार्यदल निर्माण गर्‍यो, जसमा पार्टीभित्रका तीन मुख्य गुटको समान प्रतिनिधित्व गराइयो । अध्यक्ष ओलीनिकट महासचिव विष्णु पौडेल, शंकर पोखरेल र रघुवीर महासेठ राखिए, तथापि महासेठ लामो समयदेखि वामदेव गौतमसँग निकटता भएका नेता हुन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल पक्षका पूर्व माओवादीहरू रामबहादुर थापा, वर्षमान पुन र लेखराज भट्ट छन् । वरिष्ठ नेता माधवकुमार नेपाल ‘समूह’ बाट सुरेन्द्र पाण्डे, योगेश भट्टराई र वेदुराम भुसाल परे । अहिले नेकपामा ओली, दाहाल र नेपाल ‘समूह’ लाई समान तागतका रूपमा ‘सम्बोधन’ गर्ने गरिएको देखिन्छ । 

एमालेको नवौँ महाधिवेशनबाट अध्यक्ष केपी ओलीपछि दोस्रो बरियतासहित ‘वरिष्ठ नेता’ बनेका थिए– पूर्व अध्यक्ष झलनाथ खनाल तर पार्टी एकतापछि ओलीसँग अध्यक्षमा पराजित पूर्व महासचिव माधवकुमार नेपाल मर्यादा क्रममा खनालभन्दा अगाडि आए । अहिले दुई अध्यक्षपछि तेस्रो नम्बरमा पूर्व महासचिव नेपाल र त्यसपछि चौथो नम्बरमा खनाल राखिएका छन् । राजनीतिमा खनालभन्दा नेपाल सशक्त र सक्रिय त छन् नै, साथै आफ्नो गुटका मुख्य नेताको भूमिकामा नेपाल छन् । खनाल चाहिँ ‘अवकाश’ को मनस्थितिमा छन् । त्यसले मर्यादाक्रम फेर्न काम गरेको नेकपाका दोस्रो पुस्ताका नेताहरूको मूल्यांकन छ । गत महिना सम्पन्न स्थायी कमिटी बैठकमा माधव–झलनाथ–घनश्याम भुसाल समूहमा वामदेव गौतम पनि थपिएपछि यो समूह थप ‘सबल’ हुँदै दुई अध्यक्षलाई चुनौती दिनसक्ने गरी बलियो बनेको अनुमान नेकपाका नेताहरूको छ । 

गुटमै फस्यो कार्यदल

कार्यदललाई पोलिटव्युरो गठन, केन्द्रीय सदस्यहरूको कार्यविभाजन, विधानमा देखिएका विवाद, प्रदेश कमिटी गठनका विवाद, जिल्ला नेतृत्व चयनको विवाद, जनसंगठनको एकीकरणबारे छलफल गरी प्रस्ताव पेश गर्ने जिम्मा दिइएको थियो । 

कार्यदलले काम थाल्नुअघि कार्यक्षेत्रबारे पुस १६ गते दुवै अध्यक्षसँग बालुवाटारमा संक्षिप्त बैठक गर्‍यो । ‘ओलीले प्रचण्डजी भन्नुस् न भन्नुभो । प्रचण्डले पोलिटव्युरो गठन, केन्द्रीय सदस्यको कार्यविभाजनदेखि प्रदेश कमिटीको समीक्षा गर्ने, जिल्ला नेतृत्वको मापदण्ड बनाउने, पार्टीका आयोगहरू, सल्लाहकार, ज्येष्ठ कम्युनिष्ट र जनसंगठन एकीकरण प्रस्ताव १० दिनभित्र टुंग्याउन भन्नुभो’, कार्यदलका एक सदस्यले भने, ‘ओलीले पनि प्रचण्डले भनेजस्तै गर्नुस् । पुस २७–२८ सम्म ल्याउनुस् । तुरुन्त स्थायी कमिटीबाट पारित गराएर केन्द्रीय कमिटी राखेर अनुमोदन गरौंला भन्नुभो ।’ 
त्यसपछि १७ गते दिउँसो बैठक बसी काम सुरु गरेको कार्यदल १८, १९, २० गते बैठक बस्यो । विधानको प्रस्तावना मिलाइयो । स्थायी कमिटी बैठक तीन महिनामा बस्नेलाई संशोधन गरी दुई महिनामा बस्ने बनाइयो । कार्यदल प्रदेश कमिटीको विषयमा प्रवेश गरेपछि विवादमा अल्झियो ।’ एमालेको पहिलेको प्रदेश कमिटीका सबै, पुरानो अञ्चल कमिटी, राष्ट्रिय परिषद्लाई हेर्ने नेपाल पक्षको प्रस्ताव थियो । जसमा महासेठ पनि सहमत थिए । माओवादीको पूर्व केन्द्रीय सदस्य र राज्य कमिटीलाई ध्यान दिनुपर्ने सो पक्षको प्रस्ताव थियो । महासचिव विष्णु पौडेलले भने त्यसलाई स्वीकारेनन् । पौडेलको अडान थियो, ‘त्यसो गरियो भने सचिवालयको प्रस्ताव उल्टाएजस्तो हुन्छ ।’ विधानमा रहेको १० प्रतिशत मनोनित गर्न सकिने र एकताबाट आएकालाई १० प्रतिशत थप्न सक्ने गरी २० प्रतिशतसम्म बढाउन सक्ने व्यवस्थाबाट छुटेकालाई समेट्ने भन्ने नेपाल पक्षको पहलमा विवाद अड्केको छ । ‘अध्यक्ष ओली पक्षका केही मान्छे बाधक छन्, एकीकरणमा । भोलिको महाधिवेशनको अंकगणित हेरिँदैछ । पार्टी कब्जा गर्ने मनोविज्ञानबाट काम  भएको छ’, कार्यदलमा रहेका ‘नेपाल पक्ष’का एक सदस्यले आरोप लगाए । 

स्थायी कमिटीमा तीन गुट
नेकपामा सबै कार्य गर्ने नौ सदस्यीय सचिवालय छ । त्यसबाहेक ४५ जनाको स्थायी कमिटी र ४४१ सदस्यीय केन्द्रीय कमिटी छ । कम्युनिष्ट पार्टीमा महत्वपूर्ण मानिने पोलिटव्युरो अझै गठन हुन सकेको छैन । स्थायी समितिमा पनि कम्तिमा स्पष्ट तीन ‘गुट’ देखिन्छ । एमालेको नवौं महाधिवेशनमा केपी शर्मा ओली र माधव नेपालको ‘प्यानल’ नै बनाएर चुनाव लडेको दुई प्यानल छ । साविक एमालेका २६ जनामध्ये १४ जना अध्यक्ष ओलीको साथमा छन् भने १२ जना नेपाल पक्षमा । गत महिनाको स्थायी कमिटीमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमा वामदेव गौतमले ‘फरक मत’ पेश गरेर ओली प्यानलबाट बाहिरिएका छन् । ओली प्यानलका मुकुन्द न्यौपानेले सत्तामा कुनै पनि भूमिका पाएका छैनन् । उनी अहिले ओली पक्षको आलोचक देखिएका छन् ।

नेपाल ‘प्यानल’ बाट जितेका श्रममन्त्री गोकर्ण विष्ट अहिले ओली पक्षप्रति नरम देखिएका छन् । उनी राजकीय जिम्मेवारीमा रहेका एक्लो नेपाल पक्षका नेता हुन् । 

नेपाल पक्ष चाहिँ अध्यक्ष ओली र सरकारको कटु आलोचक देखिएको छ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले त यसअघि संसद्मै सरकारको आलोचना गरेका थिए । माओवादीकेन्द्रका स्थायी कमिटीमा १९ जना छन् जसमध्ये नारायणकाजी श्रेष्ठबाहेक अधिकांश अध्यक्ष दाहालकै साथमा देखिन्छन् । यो समूह सरकारको कटु आलोचक पनि देखिँदैन । पूर्व एमालेका दुई पक्षबीच ध्रुवीकरण देखिए पनि माओवादी चाहिँ एकढिक्का देखाउन दाहाल सफल छन् । नेकपा स्थायी कमिटीका एक सदस्यले भने, ‘अहिले माओवादी साथीहरू एकढिक्का देखिएका त छन् तर त्यो चाइनिज सिसा जस्तै हो । यो फुट्यो भने अनेकौं टुक्रामा छिन्नभिन्न हुन्छ ।’ उनले त्यहाँभित्र बादल, अनन्त, प्रभाकर, नारायणकाजी, महरा, अमिक शेरचन, राम कार्की, सुनील जस्ता प्रत्येक नेताका अनेक उपगुट रहेको बताए ।
प्रवक्ता नारायणकाजी श्रेष्ठ मात्र दाहाल ‘प्यानल’ मा स्थीर नरहने विश्लेषण नेकपाभित्र गरिन थालेको छ । नेकपा अध्यक्ष दाहालले साविक एमालेभित्रको कुनै एक सानो समूहलाई साथमा लिन सकेमात्र पनि आगामी महाधिवेशनमा अध्यक्ष दाहाल अध्यक्ष हुनसक्नेसम्मको अनुमान गर्न थालिएको छ ।

सत्तामा एकलौटी
तत्कालीन एमाले र माओवादीकेन्द्र मिलेर बनेको वाम गठबन्धन हुँदै यो सरकार गठन भएको हो । त्यसैले प्रधानमन्त्री ओली, दुई उपप्रधानमन्त्री, तीन राज्यमन्त्रीसहित जम्मा २५ जना मन्त्री रहेको सरकारमा सात मन्त्री र एक राज्यमन्त्री तत्कालीन माओवादीका छन् । पूर्व माओवादी मन्त्रीमध्ये छ जना नेकपा स्थायी कमिटी सदस्य छन् । 

स्थायी कमिटी सदस्यमध्ये साविक एमालेभित्रको माधव नेपाल प्यानलबाट श्रममन्त्री गोकर्ण बिष्ट मात्र सरकारमा छन् । हाल नेपाल पक्षकै नेताहरू बिष्टलाई महासचिव पौडेलनिकट भनेर आलोचना गर्न थालेका छन् ।

स्थायी कमिटीमा रहेका ओली पक्षका १४ जनामध्ये १२ जना राजकीय सत्तामा आसीन छन् । विद्या भण्डारी राष्ट्रपति छिन् भने ईश्वर पोखरेल रक्षामन्त्री छन् भने प्रदीप ज्ञवाली परराष्ट्रमन्त्री । रघुवीर महासेठ भौतिक पूर्वाधार तथा यातायात मन्त्री छन् । शंकर पोखरेल प्रदेश ५ को मुख्यमन्त्री छन् भने पृथ्वी सुब्बा गुरूङ गण्डकी प्रदेशको मुख्यमन्त्री । पोखरेल र गुरूङ उक्त प्रदेशको पार्टी इञ्चार्ज पनि हुन् । यसप्रति नेपाल पक्षले आपत्ति जनाइसकेको छ । विष्णु पौडेल एकीकृत पार्टीको महासचिव भएका छन् । स्थायी कमिटी सदस्य रहेका पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ संसदीय दलको उपनेता छन् । 
प्रदेश २ को प्रदेशसभा नेकपा संसदीय दलको नेता सत्यनारायण मण्डल छन् । उनी प्रदेशसभाका विपक्षी दलका नेता पनि हुन् । किरण गुरूङ गण्डकी प्रदेश सरकारको दोस्रो बरियतासहित मन्त्री छन् । अर्का स्थायी कमिटी सदस्य विष्णु रिमाल प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारको भूमिकामा छन् । स्थायी कमिटीका आमन्त्रित सदस्य पुष्प कँडेल राष्ट्रिय योजना आयोगका उपाध्यक्ष छन् । 

कामयावी छैनन् कमिटी
स्थायी कमिटीमा आमन्त्रित छ जनासहित ५१ जना । पोलिटब्युरो गठन हुन सकेकै छैन । केन्द्रीय कमिटी आमन्त्रितसहित ४५१ जना । प्रदेश कमिटीहरू पनि त्यस्तै भद्दा छन् । प्रदेश कमिटीहरू पनि सबैभन्दा सानो १७५ देखि बढीमा २१७ सदस्यसम्मका छन् । यत्ति ठूलो सङ्ख्याको कुनै पनि कमिटी कामयावी नहुने नेकपा (एमाले) का एक जना संस्थापकसमेत रहेका एमालेका पूर्व स्थायी कमिटी सदस्य   (हाल स्वतन्त्र) वामपन्थी नेता राधाकृष्ण मैनाली बताउँछन् । ‘०४६ सालमा नेकपा (माले) को केन्द्रीय कमिटी जम्मा १७ जनाको थियो’, मैनालीले भने, ‘४४१ जनाको कमिटीको बैठक बसेर के निर्णय हुन्छ ? यस्ता कमिटी क्रियाशील हुँदैनन् । अब गाउँ कमिटी नै दुई सय जनाको बनाउने रे ! ठूला कमिटी बनाउनु भनेको पार्टी सिध्याउने काम मात्र हो ।’

अहिले नेकपामा सरकार नै पार्टी र पार्टी नै सरकारजस्तो भएको छ । केन्द्र, प्रदेश, स्थानीय तहमा निर्वाचित प्रतिनिधिले त्यहीमार्फत् आफ्नो सक्रियता देखाएका छन् । पार्टीमा जिम्मेवारी नभएकाले समाजका स्वतन्त्र मान्छेजस्तै भएर सामाजिक कार्यमा क्रियाशील भएर आफ्नो राजनीतिक करियर अघि बढाइरहेका छन् ।

पार्टी एकताको घोषणासभामा ओलीले भनेका थिए, ‘हामी मिश्रणको रूपमा मिसिएर हैन, अन्तर्घुलित भएका छौँ । घोलिएर एउटै भएका छौं । हिन्द महासागरमा गएर कोशी र कर्णालीको पानी खोज्न थाल्यो भने कहाँ पाइन्छ ?’

अर्का अध्यक्ष दाहालले भनेका थिए, ‘हाइड्रोजन र अक्सिजन मिलेर पानी बन्छ । पानी बनिसकेपछि हाइड्रोजन र अक्सिजन छुट्टयाउन मिल्दैन । नेकपा पनि न त्यहाँ एमाले छ, न त्यहाँ माओवादी छ । त्यो त अर्कै यौगिक बनिसक्यो ।’ 

अध्यक्षहरूसहित सबै तहका नेताले भोलि पार्टीको शीर्ष नेतृत्वका कब्जा जमाउने खराब नियतले पार्टीमा अन्तर्घुलन हैन, उल्टो समूह–समूहमा मोर्चाबन्दी सुरु भएको छ । ‘पार्टी दर्शनमा चल्छ, लाखौं मान्छे त्यसमा क्रियाशील हुन्छन् तर अहिलेको नेकपाको स्थिति निराशाजनक छ । पार्टीको लोकप्रियता गिर्दो छ । हामी संकटको नजिक छौं’, मैनालीले भने, ‘अध्यक्षद्वय ओली र प्रचण्डजी चल्तापूर्जा हुनुहुन्छ । यस्तै दुई–चार वर्ष भयो भने नेकपा सदाका लागि जान्छ ।’ त्यसबेला ओलीले प्रचण्डलाई माओवादी सिद्धियो भनेजस्तो वा प्रचण्डले ओलीलाई एमाले पनि सकियो भनेर ठट्टा गरेजस्तो मात्र अवस्थामा पार्टी नबाँच्ने र सिंगै नेपाली कम्युनिष्ट आन्दोलन नै जोखिमको नजिक रहेको मैनालीको धारणा छ । 

 

प्रकाशित मिति: १४:१० बजे, बिहीबार, माघ १०, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्