प्रचण्डको व्यंग्य- केपी ओली अझै बयलगाडामै रहेछन्
‘कमरेड ओली गणतन्त्रवादी आन्दोलनको विरोधमा हुनुहुन्थ्यो। आन्दोलनको विशाल महासागर उर्लिएपछि मैले गणतन्त्र र राजा फाल्ने कुरा मानिदिए भन्नु भएको थियो तर, उहाँको मनले मानेको थिएन। त्यो पुष्टि अहिले भएको छ,’ उनले भने,‘बयलगाडाको सिद्धान्त हो भन्ने थाहा थियो। ओली अझै बयलगाडामै हुनुहुँदोरहेछ।’
काठमाडौं, पुस १४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निरंकुश तानाशाहको संज्ञा दिएका छन्।
संसद विघटनको विरोधमा प्रचण्ड–नेपाल समूहले मंगलबार काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओली लोकतन्त्रवादी नभई निरंकुश तानाशाह भएको बताएका हुन्।
संसद विघटन गरेर प्रधानमन्त्री ओलीले देशलाई भड्कारोमा हाल्न चाहेको कुरा प्रमाणित भएको प्रचण्डले बताए। उनले ओलीले कम्युनिष्ट आदर्श, मूल्यमान्यता, त्यसको विधि, विधान र विचारमा पनि स्खलित भइसकेको पुष्टि पनि भएको बताए।
‘कमरेड ओली कम्युनिष्ट आदर्श मूल्य मान्यता, त्यसको विधि र विधान, विचारमा पनि स्खलित भइसकेको हुनुहुँदोरहेछ। गणतन्त्र र संविधानप्रति सम्पूर्णरुपमा मोह भंग भइसकेको प्रवृत्तिको पात्र हुनुहुँदो रहेछ। उहाँ लोकतन्त्रवादी होइन, उहाँ निरंकुश तानाशाह हो,’ उनले भने।
२०६२–६३ को आन्दोलनका ताका प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिको स्मरण गर्दै प्रचण्डले ओली संघीयता र गणतन्त्रविरोधी भएको पुष्टि भएको बताए। ‘कमरेड केपी ओली गणतन्त्रवादी आन्दोलनको विरोधमा हुनुहुन्थ्यो। आन्दोलनको विशाल महासागर उर्लिएपछि मैले गणतन्त्र र राजा फाल्ने कुरा मानिदिए भन्नु भएको थियो। उहाँको मनले मानेको थिएन। त्यो पुष्टि अहिले भएको छ,’ उनले भने,‘बयलगाडाको सिद्धान्त हो भन्ने थाहा थियो। उहाँको बयलगाडावाला सिद्धान्त मलाई थाहा थियो। ओली अझै बयलगाडामै हुनुहुँदोरहेछ।’
प्रचण्डले ओली गणतन्त्र विरोधी र प्रतिगमनकारी ठाउँमै छन् भन्ने देखिएको पनि बताए। ‘हामीले उहाँलाई सच्चिनु भयो होला भन्ने ठान्यौं तर अहिले कहिलेकाहीँ मलाई थोरै अप्ठ्यारो महसुस भएको छ। हामीले बुझ्न सकिएनछ केपी ओलीलाई,’ उनले भने,‘संविधान र गणतन्त्रमाथि यति निर्मम प्रहार कसैले गरेको थिएन। यस्तो काम कम्युनिष्ट पार्टीको अध्यक्षबाट हुन्छ भने सोचेका थिएनौं।’











-1791199439.jpg)