Kathmandu Press

पाथीभरा क्षेत्रको डढेलो कञ्चनजंघा संरक्षण क्षेत्रमा प्रवेश

ताप्लेजुङ, पुस १४ : ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा ६ दिनदेखि लागेको डढेलो कञ्चनजंघा संरक्षण क्षेत्रमा प्रवेश गरेको छ।कञ्चनजंघा संरक्षण क्षेत्रअन्तर्गत लुकुम्पा सामुदायिक...
पाथीभरा क्षेत्रको डढेलो कञ्चनजंघा संरक्षण क्षेत्रमा प्रवेश

ताप्लेजुङ, पुस १४ : ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा ६ दिनदेखि लागेको डढेलो कञ्चनजंघा संरक्षण क्षेत्रमा प्रवेश गरेको छ।

कञ्चनजंघा संरक्षण क्षेत्रअन्तर्गत लुकुम्पा सामुदायिक वनमा आज बिहान डढेलो प्रवेश गरेको पाथीभरा क्षेत्र विकासका कर्मचारी राजेन्द्र महतले बताए। सोमबार सिम्रिक एयरको हेलिकोप्टर ल्याएर डढेलोमा पानी छर्किने काम भए पनि प्रभावकारी हुन नसकेको महतले बताए।

'ठूलो आगोको ज्वालामा हेलिकोप्टरबाट झारेको पानी त पेट्रोल पो बन्दोरहेछ। आगो नियन्त्रण हुनुपर्नेमा झन् ठूलो फैलिँदोरहेछ,' उनले भने। पाथीभरा मन्दिरको संरचनाचाहिँ डढेलोले असर नगरेको महतले बताए।

सोमबार सिम्रिक एयरको हेलिकोप्टरमार्फत पाँचपटक जोरपोखरीबाट पानी ल्यएर आगो नियन्त्रण प्रयास गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए। मन्दिर परिसर क्षेत्रका संरचना बचाउन सफल भएको उनको भनाइ छ।

आज बिहान कञ्चनजङ्घा संरक्षण क्षेत्रमा डढेलो प्रवेश गरेको देखिएपछि फक्ताङलुङ गाउँपालिका–५ तापेथोक बिहानी उपभोत्ता समिति पदाधिकारी र स्थानीय  बासिन्दा आगो निभाउन जुटेका छन्। उनीहरु संरक्षण क्षेत्रमा आगो प्रवेश गर्न नदिनका लागि लुकुम्पा सामुदायिक वनमा पुगेर बसेको कञ्चनजङ्घा संरक्षण क्षेत्र संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए।

शनिबार साँझदेखि आगलागी आंशिकरूपमा नियन्त्रणमा आए पनि सोमबार बिहान एक्कासि फैलिएर मन्दिर परिसरमा नै पुगेको थियो। अहिले पाथीभराको मन्दिर आगलागीको जोखिममा नरहे पनि जङ्गलमा लागेको आगो अझै पूर्णरूपमा नियन्त्रणमा आएको छैन।

बिहीबारदेखि लागेको डढेलोका कारण ठूलो क्षेत्रफलको जङ्गल नष्ट भएको छ भने सो क्षेत्रमा रहेका दर्जनौँ गोठसमेत जोखिममा परेका छन्। जङ्गलमा अझै आगो सल्किरहेकाले सिरिजङ्घा गाउँपालिकामा पर्ने सिकैचास्थित ढाँडे साथै हर्कटे क्षेत्रमा रहेका गोठहरु जोखिममा परेका हुन्।

पाथीभरा क्षेत्रमा दुर्लभ वन्यजन्तु रेडपाण्डासमेत पाइने गरेको छ। आगलागीले फेदी बस्तीका बासिन्दाले प्रयोग गर्ने खानेपानीको पाइपसमेत जलेर नष्ट भएपछि त्यहाँका बासिन्दालाई समस्या भएको छ। (रासस)

प्रकाशित मिति: ०९:५८ बजे, मंगलबार, पुस १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्