Kathmandu Press

बक्सिङ डेका तीन खेल बराबरीमा सकियो

काठमाडौं, पुस १४ : प्रिमियर लिगअन्तर्गत बक्सिङ डेका तीन खेल बराबरीमा सकिएको छ । सन् २०२० को अन्तिम चरणका खेल अन्तर्गत सोमबार राति...
बक्सिङ डेका तीन खेल बराबरीमा सकियो

काठमाडौं, पुस १४ : प्रिमियर लिगअन्तर्गत बक्सिङ डेका तीन खेल बराबरीमा सकिएको छ । सन् २०२० को अन्तिम चरणका खेल अन्तर्गत सोमबार राति भएका तीन खेलमा वुल्भ्स र टोटनह्याम, क्रिस्टल प्यालेस र लेस्टर सिटी तथा चेल्सी र एस्टन भिल्लाले बराबरी खेलेका हुन् । 

बक्सिङ डे को पहिलो दिनका तीनवटै खेलका नतिजा समान रह्यो । तीनै खेल १–१को बराबरीमा सकियो । वुल्भ्स र टोटनह्यामबीचको खेल वुल्भ्सको घरेलु मैदानमा भयो । वुल्भ्सको मैदानमा टोटनह्यामले पहिलो मिनेटमै अग्रता लियो । उसका ट्यांगुइ डोम्बेले गोल गरेका थिए । ८६औं मिनेटमा रोमन रइसले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

यस्तै, घरेलु मैदानमा स्ट्राइकर विलफ्रिड जाहाले ५६औं मिनेटमा गोल गर्दै क्रिस्टल प्यालेसलाई लेस्टरविरुद्ध अग्रता दिलाए । ८३औं मिनेटमा हार्वी बर्नसले गोल गर्दै खेललाई बराबरीमा ल्याए । सोमबार राति नै भएको चेल्सी र एस्टन भिल्लाबीचको खेलमा पनि १–१ गोलको बराबरीमै सकियो । स्टामफोर्ड ब्रिजमा भएको खेलमा ३४औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । 

५०औं मिनेटमा अनवल एल गाजीले गोल गर्दै एस्टन भिल्लालाई महत्वपूर्ण १अंक दिलाए । बराबरीपछि २९ अंक सहित लेस्टर दोस्रो स्थानमा छ भने समान २६ अंक जोडेका एस्टन भिल्ला र चेल्सी पाँचौं र छैठौं स्थानमा छन् ।

यस्तै, २६ अंक नै जोडेको टोटनह्याम सातौं, २१अंक जोडेको वुल्भ्स ११औं स्थानमा छ भने क्रिस्टल प्यालेस १३औं स्थानमा छ।

प्रकाशित मिति: ०८:३१ बजे, मंगलबार, पुस १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्