पठाओ कार्यालयमा राइडरहरुले गरे तोडफोड
काठमाडौं, पुस १३ : पठाओ राइडरहरूले कार्यालयमा नाराबाजीका साथै तोडफोड गरेका छन्। आफ्नो माग सम्बोधन नभएको भन्दै राइडरहरुले सोमबार कार्यालय तोडफोड गरेका हुन्।राइडरले युएन...
काठमाडौं, पुस १३ : पठाओ राइडरहरूले कार्यालयमा नाराबाजीका साथै तोडफोड गरेका छन्। आफ्नो माग सम्बोधन नभएको भन्दै राइडरहरुले सोमबार कार्यालय तोडफोड गरेका हुन्।
राइडरले युएन पार्कबाट कम्पनीविरूद्ध नाराबाजी गर्दै र्याली निकालेर पठाओको कार्यालय मध्यबानेश्वर पुगेर घेराउ गरेका थिए।
कम्पनीले आफूखुसी निर्णय गर्ने गरेको, कुनै किसिमको सेवा सुविधा नदिएको, राइडिङ बापतको कमिसन धेरै लिएर कामदार मार्ने काम गरेको भन्दै राइडरहरूले कम्पनीदेखि असन्तुष्ट रहेका थिए। असन्तुष्ट राइडरहरुले गत सोमबार ११ बुँदे मागपत्रसमेत पेस गरेका थिए।
११ बुँदे मागपत्रमा राइडर र यात्रुको अनिवार्य बिमा हुनुपर्ने, राइड शेयरिङ्ग बापत कमाइको कमिसन अधिकतम ८ प्रतिशतमा झार्नुपर्ने, कम्पनीमा आवद्ध राइडरलाई निलम्बन गर्नुपूर्व कम्पनीबाट जानकारी दिनुपर्ने, कस्टुमर केयर नम्बर टोल फ्री हुनुपर्ने, बिपिजी सस्पेन्ड हटाउनुपर्ने, स्पेन्ट रेकर्ड राख्नुपर्ने, राइडर र युजर प्यासेन्जर दुवैले राइड क्यान्सिल गर्न मिल्ने लगायतका माग रहेको छ।
उनीहरुले आफ्नो माग एक हप्ताभित्र पुरा गर्न कम्पनीलाई अल्टिमेटम दिएका थिए।
पठाओले भने कम्पनीको नीति, नियम र अनुशासनमा नबसेका केही व्यक्तिले कम्पनीलाई बदनाम गर्न खोजेको भन्दै विज्ञप्ति जारी गरेको छ।











