लिभरपुल वेष्ट ब्रोमसँग बराबरीमा रोकियो, लिड्सले बर्नलीलाई हरायो
काठमाडौं, पुस १३ : इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल वेष्ट ब्रोमसँग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा शीर्ष स्थानको लिभरपुल रेलिगेसन क्षेत्रमा...
काठमाडौं, पुस १३ : इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल वेष्ट ब्रोमसँग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा शीर्ष स्थानको लिभरपुल रेलिगेसन क्षेत्रमा रहेको वेष्ट ब्रोमसँग एक /एक गोलको बराबरीमा रोकिएको हो ।
लिभरपुलका साडियो मानेले खेलको १२ औं मिनेटमा नै गोल गर्न सफल भए । खेलको सुरुवातमा नै अग्रता बनाएको लिभरपुलले त्यसपछि गोल थप्न सकेन ।
खेलको ८२ औं मिनेटमा वेष्ट ब्रोमका सेमी अजयीले गोल गरेपछि ब्रोमले खेल बराबरीमा फर्कायो र यो बराबरीपछि लिभरपुलले दोस्रो स्थानको एभर्टनसँगको दूरी पाँच अंकमा पुर्याउने मौका गुमायो । बराबरीपछि लिभरपुलको ३२ अंक भएको छ । वेष्ट ब्रोमको आठ अंक छ ।
यस्तै गएराति नै भएको अर्को खेलमा बर्नलीलाई लिड्स युनाइटेड हराएको छ । घरेलु मैदानमा लिड्सले बर्नलीलाई १-० ले हराएको हो । खेलको सुरुवातमै प्राप्त पेनाल्टीमा गोल गर्दै लिड्सले तीन अंक बटुल्यो ।
यस सिजन लिड्सले घरेलु मैदानमा तीन खेलमा जित निकालेको छ । जितसहित लिड्स २० अंकसहित तालिकाको ११ औं स्थानमा उक्लिएको छ । बर्नली १३ अंकसहित रेलिगेशन जोनभन्दा मात्र दुई स्थानमाथि छ ।











