मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाकाे प्रचण्ड-नेपाल पक्षका सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन्।
विराटनगर, पुस १२ : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ।
आज बिहान नेकपाकै सांसदहरुले प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएको सांसद राजेन्द्र राईले बताए। नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गराएको हो।
उनीहरुले नयाँ मुख्यमन्त्रीका रुपमा भीम आचार्यलाई प्रस्ताव गरेका छन्।
मुख्यमन्त्री राईविरूद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमा ४० जना प्रदेश सांसदले हस्ताक्षर गरेका छन्। उनीहरु सबै प्रचण्ड-नेपाल पक्षका सांसद हुन्।
प्रदेश १ को ९३ सिटमा बहुमतका लागि ४७ सिट चाहिन्छ । नेकपामा ६७ सांसद छन्। अहिले ओली पक्षमा २२ र प्रचण्ड–माधव पक्षमा ४० सांसद छन्। पाँच सांसद भने कतै लागेका छैनन्।
यस अघि बागमती प्रदेशमा पनि मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ।











