Kathmandu Press

प्रदेश १ का तीन मन्त्रीद्वारा राजीनामा, मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी

प्रदेश १ का तीन मन्त्रीले राजीनामा दिएका छन् भने मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी गरेका छन्।
प्रदेश १ का तीन मन्त्रीद्वारा राजीनामा, मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी

विराटनगर, पुस १२ : प्रदेश १ का तीन मन्त्रीले राजीनामा दिएका छन्। उनीहरुले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गराएपछि नेकपामा देखिएको विभाजनको असर प्रदेशमा पनि पर्न लागेको हो। यसै क्रममा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका तीन मन्त्रीले आज बिहान राजीनामा दिएका हुन्।

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएका हुन्। प्रधानमन्त्री ओलीनिकट मुख्यमन्त्री राईले शनिबार प्रचण्ड–नेपाल पक्षका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोलाई बर्खास्त गरेका थिए।

अब प्रचण्ड-नेपाल पक्षका अन्य मन्त्रीले पनि आजै राजीनामा दिने भएका छन्। त्यसअघि आजै मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी गरिएको छ।

प्रचण्ड-नेपाल पक्षले राजीनामा दिएपछि मुख्यमन्त्री राईको सरकार अल्पमतमा परेको छ। प्रदेश १ को प्रदेश सभामा ९३ सदस्य छन्।

जसमध्ये नेकपाका ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका तीन, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक-एक जना छन्। नेकपाका ६७ सदस्यमध्ये पूर्वएमालेका ५१ र पूर्वमाओवादीका १६ जना छन्।

बहुमतका लागि ४७ जना सांसद आवश्यक पर्छ। तर, अब मुख्यमन्त्री राईसँग २० जना मात्रै सांसद रहनेछन्। प्रचण्ड–नेपाल पक्षले आफूसँग ४७ जना रहेको दाबी गरेका छन्।

प्रकाशित मिति: १०:०२ बजे, आइतबार, पुस १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्