Kathmandu Press

बूढानीलकण्ठ मन्दिर भक्तजनका लागि खुला

काठमडौं, पुस ५ : बूढानीलकण्ठ नारायणस्थान मन्दिर आजदेखि भक्तजनका लागि पुनः खुला गरिएको छ। कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि गतवर्ष चैत ११ गतेदेखि...
बूढानीलकण्ठ मन्दिर भक्तजनका लागि खुला

काठमडौं, पुस ५ : बूढानीलकण्ठ नारायणस्थान मन्दिर आजदेखि भक्तजनका लागि पुनः खुला गरिएको छ। कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि गतवर्ष चैत ११ गतेदेखि भक्तजनका लागि मन्दिर प्रवेशमा रोक लगाइएको थियो।  

वाग्मती प्रदेशसभा सदस्य दीपक निरौला र बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धवप्रसाद खरेलले आज बिहान मन्दिर परिसरमा आयोजित कार्यक्रममा मन्दिर खुला गरिएको घोषणा गरेका हुन्। कार्यक्रममा प्रदेशसभा सदस्य निरौलाले ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्विक दृष्टिले महत्वपूर्ण मन्दिर क्षेत्रको विश्वका वैदिक सनातन धर्मावलम्बीकाबीच प्रचारप्रसार गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्न सकिने बताए।

नगर प्रमुख खरेलले विसं २०४० मै अधिग्रहण भएको मन्दिर क्षेत्रको जग्गालाई मठ मातहत ल्याई धार्मिक पर्यटन प्रवद्र्धन गर्ने हिसाबले संरचना निर्माण गर्न नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए। अधिग्रहण भइसकेको जग्गा छोडिदिन पनि उनले सरोकार भएकालाई आग्रह गरे कोरोना महामारीका कारण नौ महिनासम्म बन्द गरिएको मन्दिर भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर खुला गरिएको बूढानीलकण्ठ नारायणस्थान दशनामी मठका मठाधीश महन्त स्वामी निगमानन्दले बताए।

नौ महिनासम्म मन्दिर बन्द गरिएपनि नित्य पूजा, आरती भने नियमति भइरहेको छ। मन्दिरमा चतुर्मासा, कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म लाग्ने मेला भने यस वर्ष कोरोनाका कारण स्थगित गरिएको थियो। बुढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु र शिव दुवै भगवान् रहनुभएकाले विश्वमै मन्दिरको महत्वपूर्ण स्थान रहेको महन्त निगमानन्दको भनाई थियो।

ठूलो शिलामा जलमाथि भगवान् शयन गर्नुभएको अलौकिक मूर्ति विश्वमै अद्वितीय मानिन्छ। यसैले विश्वभर रहेको वैदिक सनातन धर्मावलम्बी मन्दिरको दर्शनका लागि बूढानीलकण्ठ आउने गरेका छन्। मन्दिर खुला गरिएपछि भक्तजन दर्शनका लागि आउन थालेका छन्। जसले गर्दा नौ महिनासम्म सुनसान रहेको मन्दिर क्षेत्रमा चहलपहल बढेको छ।

प्रकाशित मिति: १७:३० बजे, आइतबार, पुस ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्