Kathmandu Press

राप्रपाले काठमाडौंमा पुस १७ गते शक्ति प्रदर्शन गर्ने

काठमाडौं, पुस ४ : देशमा बढ्दै गएको अनियमितता, अराजकता, भ्रष्टाचार तथा सर्वसत्तावादलाई परास्त गर्न आन्दोलनको विकल्प नभएको राप्रपाले ठहर गरेको छ।परिवर्तनको मार्गचित्र नै...
राप्रपाले काठमाडौंमा पुस १७ गते शक्ति प्रदर्शन गर्ने

काठमाडौं, पुस ४ : देशमा बढ्दै गएको अनियमितता, अराजकता, भ्रष्टाचार तथा सर्वसत्तावादलाई परास्त गर्न आन्दोलनको विकल्प नभएको राप्रपाले ठहर गरेको छ।

परिवर्तनको मार्गचित्र नै गलत भएकोले त्यसलाई सच्याएर हिन्दुराष्ट्र, राजसंस्था सहितको लोकतन्त्र र संघियताको विकल्पमा सुदृढ स्थानीय स्वायत्त शासन प्रणालीको स्थापना गर्न आन्दोलन अपरिहार्य रहेको राप्रपाले निष्कर्ष निकालेको हो।

शनिबार काठमाडौंमा आयोजित उपत्यकास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष कमल थापाले पार्टीले लिएका एजेण्डा हिन्दुराष्ट्र र राजसंस्था सहितको लोकतन्त्र पुनःस्थापना गर्न र सबै सहज रुपमा अटाउने नेपालको निर्माण गर्न आन्दोलनको विकल्प नरहेको बताए।

राप्रपाले अंगिकार गरेका एजेण्डाहरुलाई सुन्न समेत नचाहने तप्कामा समेत पार्टीका एजेण्डाहरुको विषयमा बहस सुरु हुनु सुखद् रहेको बताउँदै उनले एजेण्डा स्थापनार्थ देशभर आन्दोलनको लागि तयार रहन सबै नेता कार्यकर्ताहरुलाई आग्रह गरे। 

अर्का अध्यक्ष पशुपति शंसेर जबराले राप्रपाले अंगिकार गरेको नीति र सिद्धान्तप्रति जनचासो द्रुत गतिमा बढिरहेकोले आन्दोलनको आँधीबेहेरीमार्फत राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापना पश्चात मात्र देश संकटमुक्त भएर विकासतर्फ अग्रसर हुने ठोकुवा गरे।

अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना नगरी पार्टीले विश्राम नलिने उद्घोष गर्दै संगठन विस्तारसँगै आन्दोलनमा होमिन सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे। 

भ्रष्टाचार, बेरोजगारी समस्या, नियमित रुपमा बढ्दै गएको धर्म परिवर्तनको विरोध तथा सनातन हिन्दुराष्ट्र र राजासहितको प्रजातन्त्रको पुनःस्थापनाको माग राखी आन्दोलनको शंखघोष गरेको राप्रपाले आगामी पौष १७ गते काठमाडौंमा वृहद् शक्ति प्रदर्शन गर्ने भएको छ।

आन्दोलन परिचालनको लागि पार्टीका वरिष्ठ नेता बुद्धिमान तामाङको संयोजकत्वमा समिति समेत गठन गरेर राप्रपा सडक संघर्षमा उत्रिएको हो।

प्रकाशित मिति: २२:३८ बजे, शनिबार, पुस ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्