नेफेजको ३५औं साधारण सभा सम्पन्न, विश्वकर्माको अध्यक्षतामा सर्वसम्मतबाट नयाँ कार्यसमिति
काठमाडौं, पुस ३ : नेपाल वातावरण पत्रकार समूहको ३५औं साधारणसभाले सर्वसम्मतबाट कसमस विश्वकर्माको अध्यक्षतामा दुई वर्षका लागि ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।...
काठमाडौं, पुस ३ : नेपाल वातावरण पत्रकार समूहको ३५औं साधारणसभाले सर्वसम्मतबाट कसमस विश्वकर्माको अध्यक्षतामा दुई वर्षका लागि ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। साधारणसभाले कोभिड १९ महामारीका कारण भर्चुअल मिटिङमार्फत साधारणसभा सम्पन्न गरेको हो।
शुक्रबार सम्पन्न साधारण सभाले अध्यक्ष विश्वकर्मासहित उपाध्यक्षमा चन्द्रशेखर कार्की, महासचिवमा निमेष रेग्मी, सचिवमा प्रगती ढकाल, कोषाध्यक्षमा सविन शर्मालाई चयन गरेको हो। यसैगरी सदस्यमा महिलातर्फ सृष्टि काफ्ले र सुजाता कार्की, पुरुषतर्फ छेटु शेर्पा र रविन साय्मीलाई चयन गरेको छ भने विज्ञ सदस्यमा महिलातर्फ मधुदेवी घिमिरे र पुरुष तर्फ बटुकृष्ण उप्रेती चयन गरेको छ। यसैगरी लेखा समितिमा गोपाल तिवारीको संयोजकत्वमा सोमनाथ लामिछाने र रञ्जना पौडेल चयन भएका छन्।
यसैगरी समूहले यस वर्षको वातावरण पत्रकारीता पुरस्कार आयोमेलमा कार्यरत पत्रकार यम बमलाई प्रदान गरेको छ। समूहका नवनिर्वाचित अध्यक्ष विश्वकर्माले उक्त पुरस्कार प्रदान गरेका थिए।
साधारण सभामा गत एक वर्षमा भए/गरेका कामकारबाही बारे महासचिव निमेष रेग्मी, आयव्याय विवरण कोषाध्यक्ष सविन शर्माले तथा लेखा समितिको प्रतिवेदन लेखा समितिका संयोजक गोपाल तिवारीले प्रस्तुत गरेका थिए। ती प्रतिवेदनहरु भर्चुअल सभामा छलफलपछि पारित गरिएको थियो। यसैगरी सचिवालयले ल्याएको अन्य प्रस्तावहरु पनि पारित भएका छन्।











