आयुर्वेदिक आरोग्य सेवा केन्द्र विस्तार गरिँदै
चितवन, पुस ३ : जिल्लाका चार पालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना कार्य शुरु भएको छ। हालसम्म दुई केन्द्र सञ्चालनमा आएका छन् भने...
चितवन, पुस ३ : जिल्लाका चार पालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना कार्य शुरु भएको छ। हालसम्म दुई केन्द्र सञ्चालनमा आएका छन् भने थप दुई सञ्चालनको तयारीमा छन्।
जिल्ला आयुर्वेद कार्यालय रत्ननगरका प्रमुख डा कोपिला अधिकारीका अनुसार भरतपुर महानगरपालिका–१४ स्थित शिवनगर र खैरहनी नगरपालिका–१२ स्थित कुमरोजमा केन्द्र सञ्चालनमा आइसकेका छन्। शनिबारदेखि कालिका नगरपालिका–७ सगुनटोलमा सेवा केन्द्र सञ्चालनमा ल्याइने छ। केही दिनमै इच्छाकामना गाउँपालिकामा पनि केन्द्र सञ्चालनमा आउने उनले जानकारी दिइन्।
उनका अनुसार एउटा केन्द्रमा एक वैद्य र एक थेरापीसम्बन्धी प्राविधिक रहने व्यवस्था गरिएको छ। केन्द्रले स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधिसँगै तनाव, जीवनशैली, र दुखाइको व्यवस्थापनजस्ता सेवा निःशुल्क दिनेछन्। त्यसैगरी योगप्राणायम गराइने उनले जानकारी दिइन्।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवन र यसका मातहतमा आठ औषधालयले जिल्लामा सेवा दिइरहेका छन्। प्रमुख अधिकारीले अहिले संघीय सरकारले देशभरका सबै पालिकामा एक÷एक वटा आयुर्वेदसँग सम्बन्धित अस्पताल बनाउने नीतिअनुसार नभएका पालिकामा थप गरिएको बताइन।
जिल्लाका कालिका, खैरहनी र इच्छाकामनामा आयुर्वेदसम्बन्धी अस्पताल छैनन्। भरतपुर महानगरपालिका ठूलो भएकाले आयुर्वेदिक औषधालय भए पनि यहाँ केन्द्र थप गरिएको हो। यिनै केन्द्रलाई विस्तार गरी अस्पतालका रुपमा विकास गर्ने योजना सरकारको छ।
जिल्लामा गत वर्ष केन्द्र र औषधालयबाट ३० हजारले सेवा लिएका थिए। अधिकारीका अनुसार वाग्मती प्रदेशमा यो सबैभन्दा बढी हो। यी स्थानबाट एक वर्षमा ६० लाख रुपैयाँको हाराहारीको औषधि निःशुल्क वितरण गरिँदै आएको छ। बिरामीको आकर्षण बढी भए पनि दक्ष जनशक्ति भने कम रहेको छ। जिल्ला कार्यालय रहेको केन्द्रमा एक चिकित्सक दरबन्दी छ भने अन्य औषधालय कविराज, वैद्य र प्राविधिकका भरमा सञ्चालन गरिँदै आएको छ।











