Kathmandu Press

बलात्कारका अभियुक्तलाई १९ वर्ष कैद

सप्तरी, पुस २ : सप्तरीबाट अपहरण गरी १५ वर्षीया बालिकालाई सुनसरी पुर्याएर बन्धक बनाई बलात्कार गरेको अभियोगमा एक किशोरलाई १९ वर्ष चार महिना...
बलात्कारका अभियुक्तलाई १९ वर्ष कैद

सप्तरी, पुस २ : सप्तरीबाट अपहरण गरी १५ वर्षीया बालिकालाई सुनसरी पुर्याएर बन्धक बनाई बलात्कार गरेको अभियोगमा एक किशोरलाई १९ वर्ष चार महिना कैद सजाय भएको छ।

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–४ मधवापुरका १८ वर्षीय किशोरलाई सप्तरी जिल्ला अदालतले कैद सजायका साथै जरिवाना तिराउने र क्षतिपूर्ति भराउने फैसलासमेत गरेको हो।

जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलासले आरोपितलाई जबर्जस्ती करणी गरेको आरोपमा आठ वर्ष कैद, अपहरण तथा शरीर बन्धकतर्फ चार वर्ष आठ महिना कैद र ४६ हजार ६४६ जरिवानाको फैसला गरेको छ।

त्यस्तै, थप सजाय ६ वर्ष आठ महिना कैद र ६६ हजार ६६६ जरिवाना तोकेको अदालतले जनाएको छ। आरोपितले पीडितलाई एकुमष्ठ ५० हजार क्षतिपूर्तिसमेत भर्नुपर्ने फैसला भएको छ।

कैदतर्फ सबैभन्दा बढी जबर्जस्ती करणीमा आठ वर्ष कैद सजाय भुक्तान गरेपछि अपहरण तथा शरीर बन्धकतर्फको सानो कैद भोग्नु नपर्ने भएपनि थप सजाय भने भोग्नुपर्ने जिल्ला अदालतले जनाएको छ।

अभियुक्त पनि बालक नै भएकाले दुई तिहाइ कैद सजाय हुने, तर जरिवाना र क्षतिपूर्ति भने तिर्नुपर्ने ठहर भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए।

आरोपितले २०७५ मंसिर २५ गते गाउँघरबाटै बालिकालाई अपहरण गरी सुनसरीको इटहरी पुर्याएर बन्धक बनाई बलात्कार गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०७५ पुस ३ गते उजुरी दिएका थिए। जिल्ला प्रहरी कार्यालय सप्तरीले किशोरलाई २०७५ पुस ४ गते पक्राउ गरेको थियो।
पक्राउ परेका आरोपितलाई सप्तरी जिल्ला अदालतले २०७५ पुस २८ गते बाल सुधारगृहमा पठाउने आदेश गरेको थियो।

प्रकाशित मिति: १६:२१ बजे, बिहीबार, पुस २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्