सरकारले ल्याएको अध्यादेश फिर्ता लिने नेकपाको निर्णय
सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको छ।
काठमाडौं, पुस १ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले सरकारले मंगलबार (हिजो) ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए।
यस्तै, बैठकले पार्टीका केही सांसदहरुले संवैधानिक व्यवस्था अनुसार संसदको अधिवेशन माग गर्दै राष्ट्रपतिसमक्ष पेश गर्ने भनिएको आवेदन पनि फिर्ता लिने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए।
‘सरकारले मंगलबार ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र हाम्रा केही सांसदहरुले संवैधानिक व्यवस्था अनुसार संसदको अधिवेशनको माग गर्दै राष्ट्रपतिसमक्ष आवेदनको प्रक्रिया अगाडि बढाएका छन्। संसद बैठक माग गरेर पेश गर्ने भनिएको आवेदन फिर्ता लिने निर्णय भएको छ,’ बैठकपछि प्रवक्ता श्रेष्ठले भने।
स्थायी कमिटीको अर्को बैठक पुस ५ गते बस्ने गरी स्थगित भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। उनका अनुसार पुस ५ गतेका लागि बोलाइएको केन्द्रीय कमिटीको बैठक पुस १० गते बस्नेछ।











-1791359764.jpg)