संसदको अधिवेशन तत्काल बोलाउन कांग्रेसको माग
काठमाडौं, पुस १ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदको हिउँदे अधिवेशन तत्काल बोलाउन माग सरकारसँग माग गरेको छ। सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित...
काठमाडौं, पुस १ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदको हिउँदे अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गरेको छ।
सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले संसदको हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गर्ने निर्णय गरेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए।
‘सरकारले अध्यादेशबाट देश चलाउन खोजिरहेको छ। यो विषम संसद बैठक बस्न सकेको छैन। त्यसैले हामीले तत्काल संसदको अधिवेशन बोलाउन माग गर्ने निर्णय गरेका छौं,’ सहमहामन्त्री महतले काठमाडौंप्रेससँग भने।
करिब तीन घण्टा बसेको कांग्रेस पदाधिकारी बैठकले सरकारले मंगलबार ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पनि तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ।
‘सरकारले जसरी बहुमतकै आधारमा संवैधानिक परिषद्ले निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याएको छ। यो अलोकतान्त्रिक कदम हो,’ उनले भने,‘यो अध्यादेश तत्काल फिर्ता गरेर प्रतिपक्षी दलको सहमतिमा संवैधानिक आयोगका रिक्त पदमा नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्छ।’
यस्तै, बैठकले सरकारविरुद्ध मंसिर २९ गते देशभर गरिएको प्रदर्शनमा उत्साहपूर्ण सहभागिताका लागि सबैलाई धन्यवाद दिने पनि निर्णय भएको सहमहामन्त्री महतले बताए।











-1791359764.jpg)