भदौ २६ कै निर्णयमा फर्किन ओली–प्रचण्ड सहमत, आरोपप्रत्यारोपमा पेश भएका सबै प्रस्ताव फिर्ता हुने
सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीको भदौ २६ गतेको स्थायी कमिटी बैठकको निर्णय अनुसार अघि बढ्ने सहमति भएको छ।
काठमाडौं, पुस १ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीको भदौ २६ गतेको स्थायी कमिटी बैठकको निर्णय अनुसार अघि बढ्ने सहमति भएको छ।
बुधबार बालुवाटारमा स्थायी कमिटीको बैठकअघि भएको दुई अध्यक्षबीचको भेटमा भदौ २६ कै निर्णय अनुसार अघि बढ्ने र त्यसयता भएका त्रुटि सच्याउने सहमति भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ। दुई अध्यक्षबीच दोस्रो पटक भएको भेटमा महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरु सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल र घनश्याम भुसाल पनि सहभागी थिए।
दुई अध्यक्षबीच भएको सहमतिबारे स्थायी कमिटी बैठकमा जानकारी पनि गराइएको छ। सहमतिसँगै अध्यक्ष प्रचण्डले कात्तिक २८ गतेको सचिवालय बैठकमा पेश गरेको १९ पृष्ठ लामो प्रस्ताव र मंसिर १३ गते को सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले पेश गरेको ३८ पृष्ठ लामो जवाफी प्रस्ताव पनि फिर्ता हुने भएको छ।
गत भदौ २६ मा बसेको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओली सरकार सञ्चालनमा केन्द्रित हुने, कार्यकारी अध्यक्ष प्रचण्ड पार्टी सञ्चालनमा केन्द्रित हुने तथा सरकारले गर्ने राजनीतिक नियुक्ति सचिवालयमा आवश्यक छलफल गरेरमात्रै गर्ने लगायका निर्णय गरेको थियो।
तर, प्रधानमन्त्री ओलीले स्थायी कमिटीको निर्णय विपरीत मन्त्री, राजदूत नियुक्ति लगायतका राजनीतिक नियुक्ति गरेपछि नेकपाभित्रको विवाद चुलिँदै आएको थियो।
यसअघि प्रधानमन्त्री ओली संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन सहमत भएका थिए। प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने र संसदको विशेष अधिवेशन माग गर्दै अध्यक्ष प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर सांसदहरुले हस्ताक्षरसहित राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउन लागेको समावेदन पनि फिर्ता गर्ने सहमति जुटेपछि ओली स्थायी कमिटीको बैठकमा सहभागी भएका थिए।











-1791359764.jpg)