Kathmandu Press

चीनको फोसन फर्माद्वारा बायोएनटेकबाट १० करोड खोप किन्ने तयारी

बेइजिङ, पुस १ : चीनको एउटा औषधि निर्माता कम्पनी फोसुन फर्माले जर्मन औषधि निर्माता कम्पनी बायोएनटेकबाट कोभिड–१९ विरुद्धको खोप कम्तीमा १० करोड डोज...
चीनको फोसन फर्माद्वारा बायोएनटेकबाट १० करोड खोप किन्ने तयारी

बेइजिङ, पुस १ : चीनको एउटा औषधि निर्माता कम्पनी फोसुन फर्माले जर्मन औषधि निर्माता कम्पनी बायोएनटेकबाट कोभिड–१९ विरुद्धको खोप कम्तीमा १० करोड डोज खरिद गर्ने सम्झौता गरेको जनाएको छ। तर यसका लागि चीन सरकारबाट अनुमति प्राप्त हुनु पर्नेछ।

चीनले कोभिड–१९ विरुद्धको खोप आफैं विकास गर्नुका साथै उत्पादन क्षमता बढाउन कार्य गरिरहेको छ। विश्वकै सर्वाधिक जनसंख्या रहेको चीनको आवश्यकता पूरा गर्न स्थानीय फर्महरुले विदेशी कम्पनीसँग पनि साझेदारी गरिरहेका छन्।

शाङ्घाई फोसुन फर्मास्युटिकल ग्रुपले चीनमा आवश्यक खोपको आपूर्ति सुनिश्चित गर्न जर्मन कम्पनीसँग सम्झौता गरिएको जनाएको छ। यसै वर्षको अन्त्यसम्ममा ५ करोड डोज खोपका लागि १५ करोड २० लाख डलर भुक्तानी गर्ने र बाँकी १२ करोड ५० लाख युरो चीनले खोप स्वीकृत गरेपछि भुक्तानी गर्ने फोसुनले बताएको छ।

तर बाँकी ५ करोड खोप कहिले चीन आइपुग्छ भन्ने फोसुनले स्पष्ट गरेको छैन।

फाइजर र बायोएनटेकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप यसअघि नै संयुक्तराज्य अमेरिका, बेलायत र सिंगापुर समेतका मुलुकमा लगाउन थालिएको छ। 

चीनमा हाल पाँच किसिमका खोप अन्तिम चरणमा रहेका छन्। हाल कम्तीमा १० लाखभन्दा बढी व्यक्तिलाई खोप लगाउनुपर्ने अवस्था रहेको चिनियाँ अधिकारीहरुले बताएका छन्।

विश्वका अन्य मुलुकमा चिनियाँ खोप वितरणका लागि चीनले सम्झौताहरु पनि गरिरहेको छ। चिनियाँ खोपको मूल्य ६४ डलर (दुई डोज) पर्दछ। 

प्रकाशित मिति: २०:४८ बजे, बुधबार, पुस १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्