नौ महिनापछि खुले पुनहिल र घोडेपानीका होटल
म्याग्दी, पुस १ : कोरोना भाइरसको महामारीका नौ महिनादेखि बन्द रहेका म्याग्दीका पर्यटकीय क्षेत्रका होटल र धार्मिकस्थल आजदेखि पर्यटक र भक्तजनका लागि खुला...
म्याग्दी, पुस १ : कोरोना भाइरसको महामारीका नौ महिनादेखि बन्द रहेका म्याग्दीका पर्यटकीय क्षेत्रका होटल र धार्मिकस्थल आजदेखि पर्यटक र भक्तजनका लागि खुला गरिएको छ।
अन्नपूर्ण सर्किटमा पर्ने विश्व प्रसिद्ध पर्यटकीयस्थल पुनहिल र घोडेपानीका होटल नौ महिनापछि खुला भएका छन्। त्यस्तै, म्याग्दीका गलेश्वरधाम, महारानी थान र अन्य मठमन्दिर पनि भक्तजनका लागि खुला गरिएको छ।
स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गरेर बन्द रहेका होटल, रेस्टुरेन्ट र धार्मिकस्थल खुला गर्न लागिएको हो। घोडेपानीका होटल व्यवसायी टेकसर बुद्धुजा पुनले घोडेपानीमा आन्तरिक पर्यटक आउन थालेको बताए। जसले गर्दा लामो समयदेखि बन्द होटल सुरक्षा सतर्कता अपनाएर आजदेखि खोलिएको बताए।
जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गरेर होटल सञ्चालन गर्न लागेको बताउँदै उनले भने, 'लामो समयसम्म होटल बन्द हुँदा व्यवसाय पनि चौपट भयो, अब हामी आन्तरिक तथा बाह्य पर्यटकको स्वागतका लागि स्वास्थ्य सावधानी अपनाउँदै तम्तयार भएर बसेका छौँ, आजदेखि यहाँका सबै होटल खुला भएका छन्।'
त्यसैगरी म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम पनि भक्तजनका लागि खुला गरिएको छ। सोमबार विशेष भीड लाग्ने गलेश्वर शिवालयमा उच्च सुरक्षा सतर्कताका साथ भक्तजनलाई दर्शन र पूजाआजाको व्यवस्था मिलाइको गलेश्वर क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले बताए।











