प्रचण्ड-नेपाल समूहले भन्यो- अध्यादेश तत्काल खारेज गरियोस्
काठमाडौं, मंसिर ३० : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बहुमत सचिवालय सदस्यले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज...
काठमाडौं, मंसिर ३० : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बहुमत सचिवालय सदस्यले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज गर्न माग गरेका छन्।
संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी भएलगत्तै खुमलटारमा बसेको अध्यक्ष प्रचण्डसहितका पाँच जना सचिवालय सदस्यको बैठकले सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज गर्नु पर्ने निष्कर्ष निकालेको हो।
बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले सरकारले ल्याएको अध्यादेश अलोकतान्त्रिक भएको र प्रधानमन्त्री केपी शर्मा ओलीको एकल निर्णय भएको बताए।
उनले स्थायी कमिटीको भोलि बस्ने बैठकमा अध्यादेशबारे थप छलफल हुने बताए। ‘भोलि स्थायी कमिटीको बैठक बस्दैछ,’ उनले भने,‘यो विषयमा गम्भीर रुपमा छलफल हुन्छ।’ श्रेष्ठले प्रधानमन्त्रीको एकल निर्णय आफूहरुलाई स्वीकार्य नहुने बताए।
‘अब सबै कुराको टुंगो स्थायी कमिटीबाटै लाग्छ,’ उनले भने। बैठकमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए।
मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेकी थिइन्।
प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद्मा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य व्यवस्था छ। प्रधानमन्त्रीसहित तीन जना सदस्य मात्रै उपस्थित हुँदा पनि निर्णय गर्न सक्ने गरी अध्यादेश जारी गरिएको छ।
यसअघि संवैधानिक परिषद्मा प्रधानमन्त्रीसहित ५ सदस्य उपस्थित नभए बैठक बस्न नसक्ने व्यवस्था थियो।











