Kathmandu Press

कांग्रेसले बोलायो पदाधिकारी बैठक, सरकारले ल्याएको अध्यादेशबारे छलफल हुने

काठमाडौं, मंसिर ३० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारीको बैठक बोलाएको छ। सरकारले मंगलबार संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएको अध्यादेश र त्यसबारे उत्पन्न...
कांग्रेसले बोलायो पदाधिकारी बैठक, सरकारले ल्याएको अध्यादेशबारे छलफल हुने
कांग्रेस पार्टी कार्यालय।

काठमाडौं, मंसिर ३० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारीको बैठक बोलाएको छ। 

मंगलबार सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र त्यसबारे उत्पन्न परिस्थितिबारे छलफल गर्न कांग्रेसले पदाधिकारीको बैठक बोलाएको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए।

पार्टीं सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार दिउँसो एक बजे बस्ने बैठकमा पार्टीका पूर्वपदाधिकारीलाई पनि बोलाइएको छ।

सरकारले संवैधानिक परिषद् बैठकले बहुमतका आधारमा निर्णय गर्न सक्ने गरी अध्यादेश जारी गरेपछि कांग्रेस थप रुष्ट बनेको छ। कांग्रेसले अध्यादेश जारी गर्नु अलोकतान्त्रिक क्रियाकलापको खिलाफमा रहेको भन्दै तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेको छ। यसअघि मंगलबार साँझका लागि बोलाइएको संवैधानिक परिषद् बैठकमा सभापति देउवाले आफू उपस्थित नहुने बताइसकेका छन्। 

मंगलबार बिहान बसेको संवैधानिक परिषद् बैठकमा सभामुख अग्निप्रसाद सापकोटा नै उपस्थित नभएपछि कोरम नपुगेर बैठक स्थगित भएको थियो। त्यसपछि बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। 

सरकारको सिफारिससँगै राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो नै अध्यादेश जारी गरेकी थिइन्। अध्यादेशमा प्रधानमन्त्रीसहित तीन जना सदस्य मात्रै उपस्थित हुँदा पनि निर्णय गर्न सक्ने गरी संशोधन गरिएको छ। प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद्‍मा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य व्यवस्था छ।

संवैधानिक परिषद्‍मा प्रधानमन्त्रीसहित ५ सदस्य उपस्थित नभए बैठक बस्न नसक्ने व्यवस्था थियो। तर, अध्यादेश जारी भएसँगै अब प्रधानमन्त्रीसहित तीन जना उपस्थित भए संवैधानिक परिषद्‍को बैठकले बहुमतका आधारमा नियुक्तिका लागि सिफारिसको निर्णय गर्न सक्ने गरी संशोधन गरिएको छ। 
 

प्रकाशित मिति: २३:२२ बजे, मंगलबार, मंसिर ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्