‘सभामुखले संवैधानिक परिषद् बैठक बहिष्कार गर्नु संवैधानिक दायित्व र कर्तव्यविपरीत’
काठमाडौं, मंसिर ३० : सभामुख अग्निप्रसाद सापकोटा संवैधानिक परिषद् बैठकमा उपस्थित नहुनु संवैधानिक दायित्व र कर्तव्यविपरीत भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको...
काठमाडौं, मंसिर ३० : सभामुख अग्निप्रसाद सापकोटा संवैधानिक परिषद् बैठकमा उपस्थित नहुनु संवैधानिक दायित्व र कर्तव्यविपरीत भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सभामुख सापकोटा संवैधानिक दायित्वय र कर्तव्यविपरीत संवैधानिक परिषद् बैठकमा उपस्थित नभएको बताएका हुन्। थापाले सभामुख पार्टीभन्दा माथि, स्वतन्त्र र गरिमामय हुने भएकाले निष्पक्ष रुपमा कार्यसम्पादन हुनु पर्ने संवैधानिक परिकल्पना र व्यवस्था रहेको पनि स्मरण गराएका छन्।
‘सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक दायित्व र कर्तव्यविपरित बहिष्कार गर्नुभएका मंसिर २८ र ३० गते संविधानबमोजिम आयोजित संबैधानिक परिषदका दुई वटा बैठक। जबकि सभामुख त पार्टीभन्दामाथि, स्वतन्त्र र गरिमामय हुने तथा निष्पक्ष रूपमा कार्यसम्पादन हुनुपर्ने संवैधानिक परिकल्पना र व्यवस्था रहेको छ,’ उनले फेसबुकमा लेखेका छन्।
प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद्मा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ। संवैधानिक परिषद्मा प्रधानमन्त्रीसहित ५ सदस्य उपस्थित नभए बैठक बस्न नसक्ने व्यवस्था थियो। तर, राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेसँगै अब संवैधानिक परिषद्को बैठकले बहुमतका आधारमा नियुक्तिका लागि सिफारिसको निर्णय गर्न सक्नेछ।
प्रधानमन्त्री ओलीले सोमबार र मंगलबार बिहान बोलाएको संवैधानिक परिषद्को बैठक कोरम नपुगेर स्थगित भएको थियो। मंगलबार बिहान बोलाइएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएका थिए। सभामुख सापकोटा अनुपस्थित भएपछि मंगलबार साँझ ५ बजे फेरि बस्ने गरी संवैधानिक परिषद्को बैठक स्थगित भएको थियो।











