Kathmandu Press

संवैधानिक परिषदमा सभामुखको अनुपस्थितिले नेकपा विवाद चरमाेत्कर्षतर्फ

संवैधानिक निकायमा रिक्त पदहरुको पूर्ती गर्ने एजेण्डासहित बोलाएको बैठकमा सभामुख अनुपस्थित भएपछि नेकपाभित्रको झगडा अब पार्टीभित्रबाट राज्यका अन्य निकायसम्म पनि पुगेको देखिएको छ।
संवैधानिक परिषदमा सभामुखको अनुपस्थितिले नेकपा विवाद चरमाेत्कर्षतर्फ

काठमाडौं, मंसिर ३० : संवैधानिक परिषद्को बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक विवाद चरम उत्कर्षमा पुगेको पुष्टि भएको छ। 

संवैधानिक परिषदका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको गत आइतबार र आज बिहानको बैठकमा सभामुख सापकोट अनुपस्थित भएका छन्। उनको अनुपस्थितिले नेकपाको झगडा फुटको नजिक पुगेको विश्लेषण हुन थालेको छ। 

सभामुख सापकोटा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल निकट हुन्। उनलाई सभामुख नबनाउन प्रधानमन्त्री ओलीले अनेक हटकण्डा अपनाउदा अपनाउँदै नसकेपछि अन्तत गलेर सभामुख बनाउन बाध्य भएका थिए। सापकोटा नेकपाभित्र पनि दाहालका निकै निकट रहेका छन्।

संवैधानिक निकायमा रिक्त पदहरुको पूर्ती गर्ने एजेण्डासहित बोलाएको बैठकमा सभामुख अनुपस्थित भएपछि नेकपाभित्रको झगडा अब पार्टीभित्रबाट राज्यका अन्य निकायसम्म पनि पुगेको देखिएको छ। 

दाहाल पक्षिय नेताहरु भने ओलीले पार्टीको आन्तरिक विवाद बल्झिरहेका बेला थप विवाद सृजना गर्न संवैधानिक परिषदको बैठक बोलाएको दावी गरेका छन्। ‘पार्टी आन्तरिक विवादमा छ, दुवै अध्यक्षले एकले अर्काको विरुद्ध पेश गरेको राजनीतिक प्रतिवेदन स्थायी समितिमा छलफलमा छ, यो बेला संवैधानिक पदहरुमा नियुक्ति गर्नेगरी बोलाइएको बैठक पार्टीभित्रको विवाद झन बढाउनका लागि हो’ दाहाल निकट एक स्थायी समिति सदस्यले काठमाडौं प्रेससँग भने, ‘अहिले संवैधानिक परिषद बोलाउने समय होइन, पहिला पार्टीको विवाद समाधान गर्नुपर्छ।’

आज बिहान सभामुख अनुपस्थित भएकाले स्थगित भएको बैठक ओलीले फेरि आजै साँझ डाकेका छन्। उक्त बैठकमा सभामुख फेरि पनि अनुपस्थित भएभने नेकपाको झगडा सरकारतर्फ सल्कने देखिन्छ। 

ओलीले सभामुखको अनुपस्थितिमा बैठक राखेर कुनै निर्णय गरेभने त्यो नेकपाभित्र अर्को विवादास्पद निर्णयको रुपमा ध्रुविकरण हुनेछ। स्थायी समिति बैठक जारी रहेका बेला ओलीले पार्टीभित्र सल्लाहनै नगरी बैठक राखेर विवाद निम्त्याउन खोजेको अर्को पक्षको धारणा छ।

प्रकाशित मिति: १७:५५ बजे, मंगलबार, मंसिर ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्