पञ्चायतका बेला रुख रोप्दा हामो टाउको फुटाइन्थ्यो, आज पुल बनाउँदा हाम्रा करङ भाँचिदैछन् : रामचन्द्र पौडेल
काठमाडौं, मंसिर २९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको घोर दुरुपयोग गरिरहेको आरोप लगाएका...
काठमाडौं, मंसिर २९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको घोर दुरुपयोग गरिरहेको आरोप लगाएका छन्।
कांग्रेस काठमाडौंले सोमबार सरकारविरुद्ध आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सत्ताको दुरुपयोग गरेर सर्वसत्तावाद लाद्ने प्रयत्न सरकारले गरिरहेको आरोप लगाएका हुन्। ओलीको सर्वसत्तावादको उन्मादलाई ठीक ठाउँमा राख्न जनता अब सजग हुनु पर्ने पौडेलको भनाइ छ।
पौडेलले जनताले लडेर ल्याएको व्यवस्था र संविधान नै खल्बल्याउने प्रयास पनि भइरहेको बताए। ‘लोकतन्त्र र संविधानको रक्षाको लागि आज सबै नेपाली सजग भएका छन्। कि यो मुलुकमा कुनै पनि किसिमको अधिनायकवाद, सर्वसत्तावाद र तानाशाही व्यवहार स्वीकार्य हुँदैन,’ उनले भने,‘ प्रतिगमनको कुचेष्टा नगरे हुन्छ अब त्यसको विरोधमा जनता जुर्मुराएका छन्। आजको कांग्रेसको देशभरको प्रदर्शन नेपाली जनताको जागरणको सन्देश हो।’
पौडेलले ओलीको सर्वसत्तावादविरुद्ध सबै एकजुट भएर लड्नु पर्ने बताए। उनले कम्युनिष्टको सर्वसत्तावाद राजाको निर्दलीय पञ्चायतका बेलाको जस्तै अधिनायकवादका भएको आरोप लगाए।
‘राजाको निर्दलीय पञ्चायतका बेला हामीले रुख रोप्दा हामो टाउँको फुटाइन्थ्यो। आज कम्युनिष्टको सर्वसत्तावादमा हामीले पुल बनाउँदा हाम्रा करङ भाँचिँदैछन्,’ पौडेलले भने,‘यो विडम्बना हो। यी दुवै चरित्र अधिनायकवादका दुई स्वरुप हुन्।’
सवै सत्ता आफ्नो हातमा लिएर आफैँ मोज गर्ने ओलीको प्रवृत्तिको विरोधमा कांग्रेस सडकमा उत्रिएको उनले बताए। ‘सबै सत्ता आफ्नो हातमा लिएर आफैँ मोज गर्ने, आफ्नो हात जगननाथ गर्ने। आफ्ना मान्छे पोस्ने, आफ्नै वर्ग खडा गर्ने, नयाँ वर्ग जन्माउने प्रयास भइरहेको छ। त्यसकाविरुद्ध हामी उत्रिएका हौँ,’ उनले भने।
ओली सत्तामा आएपछि मुलुकमा भ्रष्टाचार र असुरक्षा बढेको उनले आरोप लगाए। सरकारले राज्यकोषको दुरुपयोग गरेर कार्यकर्ता पोस्ने काम गरिरहेको पनि आरोप लगाए। ‘सरकारले स्थानीय तह र प्रदेशको अधिकार खोसेर आफ्ना कार्यकर्तामार्फत सिधै जनताकाबीचमा पैसा पठाउने अनि यो पैसा देखाएर यो विकास गर्दिन्छु मेरो पार्टीमा आऊ भन्ने काम भइरहेको छ,’ उनले भने।
पौडेलले ओली सरकारले पाँच वर्षमा गर्ने कामको एक–एक हिसाब कांग्रेसले राख्ने पनि बताए।











