कांग्रेस सुतेको बाघ हो, जिस्काउने प्रयत्न नगरे हुन्छ : प्रवक्ता शर्मा
हेटौँडा, मंसिर २९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस सुतेको बाघ भएकाले नजिस्काउन सरकारलाई चेतावनी दिएका छन्। सरकारविरुद्ध कांग्रेसले आयोजना...
हेटौँडा, मंसिर २९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस सुतेको बाघ भएकाले नजिस्काउन सरकारलाई चेतावनी दिएका छन्।
सरकारविरुद्ध कांग्रेसले आयोजना गरेको विरोधसभालाई मकवानपुरको हेटौँडामा सम्बोधन गर्दै प्रवक्ता शर्माले भने,‘सुतेको बाघलाई जिस्काउने प्रयत्न नगर। कांग्रेस पनि त्यस्तै हो। कांग्रेसलाई जिस्काउने प्रयत्न नगर्नुस्।’
शर्माले जनता कोरोनाको मारमा हुँदा सरकार भने सत्ताको जित हारको लडाइमा रहेको बताए। ‘जनता कोरोनाको मारमा छ। सरकार सत्ताको जित हारमा छ। त्यसैले हामी सरकारलाई सच्याउनका निम्ति सडकमा उत्रिएका हौं,’ उनले भने।
प्रवक्ता शर्माले के जनता मगर्दै गर्दा बालुवाटारमा यस्तै सत्ताको लडाइ होस् भनेर मत दिएको हो भनेर युवाहरुलाई प्रश्न पनि गरेका छन्। ‘म सोध्न चाहन्छु- एमालेलाई मत दिने, माओवादीलाई मत दिने युवा साथीहरु हो। तपाईंको दाहिने हात छातीमा राखेर एक पटक अन्तरआत्मालाई सोध्नुस्– के जनता मर्दै गर्दा बालुवाटारमा यस्तै लडाइ होस् भनेर मत घाममा लाम लागेर दिनु भएको हो?,’ उनको प्रश्न थियो।
शर्माले कम्युनिष्ट सरकार आएपछि देशले गति लिन्छ भन्ने जनताको भ्रम टुट्नु पर्ने बताए। ‘कमरेड केपी ओली र प्रचण्डका कारण कम्युनिष्ट सरकार बनेको होइन,’ उनले भने,‘तपाईंहरुका कारण बनेको हो कम्युनिष्ट सरकार। त्यसैले तपाईंको सपना टुट्नु पर्छ। कम्युनिष्ट पार्टीको सरकार आएपछि देशले गति लिन्छ भन्ने जनतको भ्रम टुट्नुपर्छ। सरकार आज महामारीमा के गर्दैछ भन्ने बुझाउन हामी सडकमा उत्रिएका हौं।











