जर्मनीमा क्रिसमसमा लकडाउन, अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्न चान्सलरको आह्वान
क्रिसमस, नयाँवर्ष नजिकिँदा संक्रमण फैलने जोखिम बढेकाे जनाउँदै जर्मन चान्सलर एंगेला मर्केलले अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्न आह्वान गरेकी छिन्।
काठमाडौं, मंसिर २९ : कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जर्मनीमा फेरि लकडाउन गर्न लागिएको छ। क्रिसमसमा लकडाउन गर्न लागिएको छ भने अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्न आह्वान गरिएको छ।
कोरोना भाइरसको संक्रमण अत्यधिक बढेपछि चान्सलर एंगेला मर्केलले बुधबारदेखि अत्यावश्यकबाहेक सबै पसल, विद्यालय तथा कार्यालयहरू बन्द गर्न आह्वान गरेकी हुन्।
तत्कालका लागि जनवरी १० तारिखसम्म अत्यावश्यकबाहेकका सेवा बन्द गरिने भएका छन्। त्यसपछि भने अवस्था हेरेर निर्णय गरिने उनको भनाइ छ। युरोपकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुकमा महामारी थप बढ्दै गएपछि त्यस क्षेत्रकै लागि चुनौति बनेको छ।
कोरोना भाइरसका कारण अर्थतन्त्रमा निकै असर परेकाले कर्मचारीहरुलाई सकभर घरबाटै काम गर्न समेत मर्केलले आग्रह गरेकी छिन्। यस्तै सार्वजनिक स्थलमा मादकपदार्थको कारोबार गर्न प्रतिबन्ध लगाइएको छ भने कपाल काट्ने ठाउँ पनि बन्द गर्न भनिएको छ।
क्रिसमस, नयाँवर्षलगायतका महत्वपूर्ण चाडपर्वहरू नजिकिँदा संक्रमण फैलने थप जोखिम रहेको भन्दै सरकारी अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्।
चाडपर्वको समयमा भीडभाड हुने, किनमेल बढ्ने, रमाइलो गतिविधिहरू धेरै हुने भएकाले पनि तत्काल लकडाउनको आवश्यकता भएको अधिकारीहरु बताउँछन् ।
सरकारी तत्थ्यांकअनुसार, जर्मनीमा अहिलेसम्म १३ लाख २० हजारभन्दा बढी कोरोना संक्रमितहरु भेटिएका छन् भने २२ हजार एक सय ७१ जनाको मृत्यु भईसकेको छ।











