माइतीघरबाट पुनः आन्दोलन थाल्ने उखु किसानको तयारी
काठमाडौं, मंसिर २८ : तोकिएको समयमा उखुको भुक्तानी नपाएपछि उखु किसानले फेरि आन्दोलन थाल्ने तयारी गरेका छन्। सोमबारबाट काठमाडौंको माइतीघरमा धर्ना तथा आन्दोलन थाल्ने...
काठमाडौं, मंसिर २८ : तोकिएको समयमा उखुको भुक्तानी नपाएपछि उखु किसानले फेरि आन्दोलन थाल्ने तयारी गरेका छन्। काठमाडौंको माइतीघरमा धर्ना तथा आन्दोलन थाल्ने किसानहरूकाे तयारी रहेकाे छ।
उखुको बक्यौता रकम नपाएको भन्दै गत पुसमा किसानले काठमाडौं माइतीघरमा आन्दोलन गरेका थिए। केही साताको आन्दोलनपछि मन्त्रालयले माघभित्र पैसा चुक्ता गर्न लगाउने भएपछि आन्दोलन रोकिएको थियो।
तर सरकारले तोकेको समयसीमा एक वर्ष नाघिसक्दा पनि उखु किसानले अहिलेसम्म पैसा नपाएपछि उनीहरू फेरि आन्दालनका लागि काठमाडौं आएका हुन्।
आन्दोलनको लागि सर्लाहीबाट २५/३० जना किसान काठमाडौं आइसकेको र रौतहटबाट पनि सोही संख्यामा किसानहरु काठमाडौं आउँदै छन्।
किसानको उखुको भुक्तानी समयमै दिनुपर्ने र मिल सञ्चालन हुनुपर्ने किसानहरुको मुख्य माग रहेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार सबैभन्दा बढी श्रीराम चिनी उद्योगले ३२ करोड रूपैयाँ किसानहरुलाई तिर्न बाँकी छ। त्यस्तै, अन्नपूर्णको १७ करोड, लुम्बिनीको ८ करोड ४१ लाख र इन्दिराको ४ करोड ७० लाख छ।











