Kathmandu Press

प्रदर्शनमा मास्क र दूरी कायम राख्न देउवाको निर्देशन

काठमाडौं, मंसिर २८ : कांग्रेस सभापति शेरबहादुर देउवाले भोलि देशव्यापी रुपमा हुने प्रदर्शनमा मास्क लगाउन र दूरी कायम राख्न निर्देशन दिएका छन्।आज एक...
प्रदर्शनमा मास्क र दूरी कायम राख्न देउवाको निर्देशन

काठमाडौं, मंसिर २८ : कांग्रेस सभापति शेरबहादुर देउवाले भोलि देशव्यापी रुपमा हुने प्रदर्शनमा मास्क लगाउन र दूरी कायम राख्न निर्देशन दिएका छन्।

आज एक अपिल जारी गरि सपभाति देउवाले देशव्यापी प्रदर्शनमा कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखेर स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न निर्देशन दिएका हुन्। उनले सबै तहका नेता तथा कार्यकर्तालाई अनिवार्य रुपमा मास्क लगाउन र भौतिक दूरी कायम गर्न आग्रह पनि गरेका छन्।

तनहुँमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई गिरफ्तार गरेको विरोधमा कांग्रेसले भोलि देशव्यापी प्रदर्शन गर्न लागेको हो। सरकारविरुद्ध गर्न लागेको प्रदर्शनका लागि देशका प्रमुख शहरहरुमा केन्द्रीय नेतालाई खटाएको छ।

प्रतिपक्षका रूपमा कांग्रेसले निरन्तर सालिन, संवादमैत्री र जिम्मेवार भूमिका निभाउँदै आएपनि सरकारले यसलाई कमजोरीका रुपमा बुझ्ने धृष्टता गरेको देउवाको भनाइ छ। त्यस्तै, सरकार भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा केन्द्रीय रहेको देउवाको आरोप छ।

देउवाले जारी गरेको अपिलमा भनिएको छ, ‘सरकारप्रतिको वितृष्णा मुलतः अहिलेको अवस्थाप्रतिको वितृष्णा हो । नेपाली जनताले लामो संघर्षबाट स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्र मार्फत सार्थक परिणामको अपेक्षा जनताले राख्नु जनताको स्वभाविक हक हो । अतः नेपाली कांग्रेसले सडक देखि संसदसम्म अब सरकारलाई तिब्र दबाब दिनु छ र जनताको वितृष्णालाई सम्बोधन गर्न संयम तर शसक्त ढंगले अघि बढ्नुछ । त्यसकै शुरूवात हो भोलिको सांकेतिक प्रदर्शन।’

‘जनता कोरोनाका कारण मर्दै गर्दा स्वास्थ सामग्रीमा समेत भ्रष्टाचार भएको घटनाभन्दा लज्जास्पद घटना इतिहासमा अर्को केही नभएको देउवाको जिकिर छ। शक्ति सबै प्रधानमन्त्री कार्यालयमा थुपार्ने र जनविरोधी विधेयकहरुमार्फत अघि बढ्न खोज्ने, अधिनायक आकांक्षाको अर्को उदाहरण भएको उनले उल्लेख गरेका छन्।

त्यस्तै, महिला हिंसा र बलात्कारका घटना बृद्धि भइरहेको उल्लेख गर्दै त्यसमा सरकारले गैरजिम्मेवार बनेको जनाएका छ। कोरोनाका कारण लाखौं युवा बेरोजगार हुँदा पनि सरकार मुकदर्शक बनेको देउवाको भनाइ छ।

त्यसैले सांकेतिक रुपमा सरकारलाई सजग गराउन देशव्यापी प्रदर्शनमा उत्रिनु परेको जनाएका छन्। उनले प्रदर्शनलाई शान्तिपूर्ण र मर्यादित बनाउन पनि नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्।

प्रकाशित मिति: १७:४० बजे, आइतबार, मंसिर २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्