देउवा उपस्थित नहुने भएपछि अनिश्चित बन्यो संवैधानिक परिषद् बैठक
काठमाडौं, मंसिर २८ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित नहुने भएपछि आजका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक अनिश्चित भएको...
काठमाडौं, मंसिर २८ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित नहुने भएपछि आजका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक अनिश्चित भएको छ ।
लामो समयदेखि रिक्त संवैधानिक निकायहरूमा रिक्त पदपूर्तिका विषयमा छलफल गर्न आइतबार बिहान डाकिएको बैठक पनि सर्ने सम्भावना बढेको हो । आइतवार बिहान नौ बजेका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा डाकिएको संवैधानिक परिषदको बैठक प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवा नजाने भएपछि अनिश्चित बनेको हो ।
यही विषयमा प्रधानमन्त्री ओलीले देउवासँग शुक्रबार छलफल गरेका थिए। यो छलफललाई लिएरसमेत कांग्रेस नेताहरुले देउवाको आलोचना गरेका थिए। स्रोतका अनुसार सभापति देउवाले कम्तीमा दुईदेखि तीन दिनका लागि बैठक सार्न उचित हुने सन्देश पठाएका छन्। यही २९ गते कांग्रेसले देशभर सरकारविरुद्ध प्रदर्शन गर्दैछ।
परिषद् बैठकमा विपक्षी दलको नेता अनिवार्य हुनुपर्ने कानुनी व्यवस्था छ । संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ । भागबण्डा नमिल्दा लामो समयदेखि संवैधानिक निकायमा पदपूर्ति हुन सकेको छैन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोगसहित विभिन्न संवैधानिक निकायमा प्रमुख र सदस्य गरी ४५ पद रिक्त छन् ।











