Kathmandu Press

श्रेष्ठको निधनको शोकमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं, मंसिर २७ : नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको निधनको शोकमा केन्द्रीय कार्यालयसहित सबै जिल्लाका पार्टी कार्यालयमा तीन दिन...
श्रेष्ठको निधनको शोकमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने
कांग्रेस पार्टी कार्यालय।

काठमाडौं, मंसिर २७ : नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको निधनको शोकमा केन्द्रीय कार्यालयसहित सबै जिल्लाका पार्टी कार्यालयमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ। 

पार्टी कार्यालय सानेपामा शनिबार बिहान बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै केन्द्रीय कार्यालयसहित सबै जिल्लाका पार्टी कार्यालयमा तीन दिन (मंसिर २६, २७ र २८ गते) सम्म  पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो।

बैठकले मंसिर २८ गते आइतबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने, १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३ औं दिनमा सम्बन्धित जिल्ला काठमाडौंले भौतिक दूरी कायम गर्दै शोक सभा आयोजना गर्ने निर्णय गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

कांग्रेसका पूर्वकेन्द्रीय सस्दय श्रेष्ठको मंसिर २६ गते ८० वर्षको उमेरमा निधन भएको थियो। वि.स. २०१८ सालमा निरंकुश पञ्चायती व्यवस्थाको विरोध गर्दै भएको क्रान्तिका क्रममा बमकाण्डमा पक्राउ परेका स्वर्गीय श्रेष्ठले पटक–पटक गरी १७ वर्ष भन्दा लामो समयसम्म बन्दी जेल जीवन बिताएका थिए। नेपालको प्रजातान्त्रिक आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरेका नेता श्रेष्ठ लोकतान्त्रिक मूल्य पद्धतिप्रति अविचलित आस्था, सादगीपूर्ण जीवन र निष्ठाको राजनीतिको प्रतिमूर्तिका रुपमा समेत परिचित थिए। 

श्रेष्ठ ३० वर्ष लामो प्रजातान्त्रिक आन्दोलनहरुमा सक्रिय रहेर बहुदलीय व्यवस्थाको स्थापनाका निमित्त विशिष्ट योगदान गर्ने र त्यस आन्दोलनमा सक्रिय भएका कारण पञ्चायती व्यवस्थाको दमन र प्रतिशोधमा परेका राजनीतिक पीडितहरुलाई सम्मान गर्न नेपाल सरकारबाट सन्त नेता कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठन भएको राजनीतिक पीडित सहायता समितिको सदस्य, २०५१ सालको मध्यावधि निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं. ५ बाट पार्टीका तर्फबाट उम्मेदवार र २०५६ सालमा नेपाली कांग्रेस काठमाडौंको जिल्ला सभापति भएका थिए।

प्रकाशित मिति: १८:४४ बजे, शनिबार, मंसिर २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्