बाक्लो हुस्सुले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित
काठमाडौं, मंसिर २६ : बिहानैदेखि लागेको बाक्लो हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तराष्ट्रिय दुवै उडान साढे तीन घन्टा प्रभावित भएका...
काठमाडौं, मंसिर २६ : बिहानैदेखि लागेको बाक्लो हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तराष्ट्रिय दुवै उडान साढे तीन घन्टा प्रभावित भएका छन्।
बिहान सबेरैदेखि बाक्लो हुस्सुले भिजिबिलिटी (दृश्य क्षमता) कम भएका कारण अन्तर्राष्ट्रिय विमानस्थलको सबै उडान प्रभावित भएको विमानस्थलका निमित्त महाप्रबन्धक देवचन्द्रलाल कर्णले बताए। उनका अनुसार आज बिहान चीनको कुनमिङबाट आएको हिमालय एयरलाइन्सको जहाज मात्रै अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ।
आज बिहान करिब ६ः३० बजे हिमालय एयरलाइन्सको जहाज अवतरण गरेको थियो। त्यसपछि भने बाक्लो हुस्सु लागेपछि विमानस्थलमा कुनै पनि जहाजको उडान अवतरण हुने सकेनन् ।
हुस्सु खुलेपछि अर्थात बिहान १० बजेपछि मात्र उडान सामान्य भएको निमित्त महाप्रबन्धक कर्णले बताए। “बिहान एक मात्र अन्तर्राष्ट्रिय उडानको जहाज अवतरण भयो। बाक्लो हुस्सुले भिजिबिलिटी एक सय मिटर मात्रै छ, बिहान १० बजेपछि मात्र उडान सामान्य भएका छन्”, उनले भने।
अन्तर्राष्ट्रिय उडानका जहाजलाई अवतरण गर्न एक हजार पाँच सय मिटर भिजिबिलिटी चाहिन्छ। त्यस्तै आन्तरिक उडानका जहाजको प्रकृति अनुरुप फरक–फरक भिजिबिलिटी हुनुपर्छ।
आइएफआर जहाजलाई उडानका लागि डेढ किलोमिटर भिजिबिलिटी चाहिन्छ। ती जहाजलाई अवतरणका लागि तीन किलोमिटर भिजिबिलिटी चाहिन्छ।
काठमाडौंसँगै देशभरका पहाडी र तराई भेगको उडान पनि प्रभावित भएको छ। (रासस)











