मच्छिन्द्रनाथ दर्शन गर्न भक्तजनको भीड
ललितपुर, मंसिर २४ : ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथ दर्शन गर्न बिहानैदेखि तःबहालमा भक्तजनको भीड लागेको छ। बुधबार साँझ ५ बजे रातो...ललितपुर, मंसिर २४ : ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथ दर्शन गर्न बिहानैदेखि तःबहालमा भक्तजनको भीड लागेको छ। बुधबार साँझ ५ बजे रातो मच्छिन्द्रनाथलाई बुङ्मतीबाट पाटन ल्याइएसँगै दर्शनार्थी बढेका हुन्।
मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले दिएको शुभ साइतअनुसार मच्छिन्द्रनाथलाई पाटन तःबहाल ल्याइएको पुजारी मदन शाक्यले जानकारी दिए। उनले भने, ‘बुधबार दिउँसो सवा ४ बजे मच्छिन्द्रनाथलाई बुङ्मतीबाट गुरुज्यूको पल्टन र केही सुरक्षाकर्मीसहित आठ जना पानेजुले पालेपालो बोकेर ल्याएका थियौँ। आज यहाँ भक्तजनको खुबै चहलपहल बढेको छ।’ मच्छिन्द्रनाथको रेखदेखमा आगामी आइतबारसम्मका लागि तःबहालमा आफ्नो पालो परेको पुजारी शाक्यले बताए।
पाँच दिनअघिदेखि चोखो खाएर बसेका पुजारीले करुणामयलाई पाटन लगिसकेका ३२ पानेजु संघका अध्यक्ष यज्ञरत्न शाक्यले जानकारी दिए। उनले भने, ‘यही महिनामा मच्छिन्द्रनाथलाई पाटन ल्याउने परम्पराअनुसार मुलुकमा कोरोना महामारी रहिरहँदा पुजारीले समेत थाहा नपाउने गरी साइत हेरिएछ। यसपटक खासै हल्ला नगरी मच्छिन्द्रनाथलाई बुङ्मतीबाट पाटन लगियो।’
लोकेश्वरलाई पाटन ल्याउनुपूर्व बुङ्मतीका विभिन्न देवीदेवताको पूजा गरिएको पानेजु हेम बज्राचार्यले बताए। वृष्टिदेवलाई गत भदौ २९ गते दिउँसो ३ बजे पुल्चोकबाट खटमा बोकेर बुङ्मती लगिएको थियो। बुङ्मती लगिएको ५७औं दिनमा नै यसपटक मच्छिन्द्रनाथलाई पाटन ल्याइएको हो।
लोकेश्वरको मन्दिर बुङ्मतीमा हाल निर्माणाधीन रहेको छ। सो मन्दिर पछाडि रहेको अस्थायी मन्दिरमा मच्छिन्द्रनाथ राखिएको थियो। गत वर्ष कोरोना जोखिमका कारण मच्छिन्द्रनाथलाई गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल नलगी एकैपटक रथ तानेर जात्रा समाप्त गरिएको थियो।
रातो मच्छिन्द्रनाथलाई हिन्दूधर्माबलम्बिले भर्खरै उदाउन लागेको सूर्यनारायणका रूपमा लिन्छन् भने महायानी बौद्ध परम्परामा लोकेश्वरलाई अभिताभ बुद्धका रूपमा लिइन्छ। नेवार बौद्ध संस्कृतिमा आर्यावलोकितेश्वरको ठूलो महिमा रहेको मुनीन्द्ररत्न बज्राचार्यद्वारा लिखित पुस्तकमा उल्लेख गरिएको छ।
किंवदन्तीअनुसार एकपटक भिक्षा माग्न आएका गोरक्षनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए। यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरक्षनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरक्षनाथ आसनबाट उठी वर्षा र सहकाल हुने पत्ता लगाइएको थियो। यसपछि भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका बताइएको छ।
काठमाडौँ उपत्यकामा मुहार रातो भएका रक्तवलोकेश्वर करुणामयको स्थान निकै उच्च छ। यिनलाई लोकनाथ, रातो मच्छिन्द्रनाथ वा मत्स्येन्द्रनाथ, बुङ्गमलोकेश्वर, बुँगद्यः, आर्यावलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकार्दै उपत्यकावासीले श्रद्धाका साथ पूजापाठ र जात्रा मनाउने गर्छन्।
प्रत्येक वर्ष चैतकृष्ण प्रतिपदाका दिन आर्यावलोकितेश्वरको महास्नान गर्ने परम्परा रहेको छ। दमकलचोकस्थित जोगाम्बर पीठमा मच्छिन्द्रनाथको रथ बनाउने गरिन्छ। विसं ८०० मा राजा वरदेवले रथ बनाउन लगाएका थिए। यस वर्ष मच्छिन्द्रनाथलाई टोलटोल घुमाउने, नरिवल खसाल्ने ,एक्लो महिलाले रथ तान्ने र अन्त्यमा जावलाखेल लगेर भोटो देखाउने इच्छा रहेको सुन्धारा निवासी सूर्यमान डङ्गोलले इच्छा व्यक्त गरे।