Kathmandu Press

शुक्लाफाँटाका विद्यालय फेरि १० दिन बन्द

कञ्चनपुर, मंसिर २५ : कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सञ्चालित विद्यालयको पठनपाठन १० दिनका लागि बन्द गरिएको छ।नगर कार्यपालिकाको बैठकले...
शुक्लाफाँटाका विद्यालय फेरि १० दिन बन्द

कञ्चनपुर, मंसिर २५ : कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सञ्चालित विद्यालयको पठनपाठन १० दिनका लागि बन्द गरिएको छ।

नगर कार्यपालिकाको बैठकले मंसिर २५ गतेदेखि पुस ५ गतेसम्मका लागि सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको हो। लामो समयदेखि बन्द भएको विद्यालय मंसिर २१ गतेदेखि सञ्चालन गरिएका थियो।

नगरपालिकाको वडा नं. ५ र ६ मा आठ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने एक जनाको मृत्यु भएको छ। कोरोनाबाट ज्यानै गएपछि नगरपालिकाले संक्रमण फैलिन सक्ने अवस्थालाई मध्यनजर गरी विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ।

कोरोना भाइरस समुदायस्तरमै देखिएपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाको शिक्षा शाखाका प्रमुख टिकेन्द्रप्रसाद भट्टले बताए। उनले भने, “नगरपालिकाको निर्णयलाई बेवास्ता गरी प्रत्यक्ष विधिबाट कक्षा सञ्चालन गरे त्यसबाट हुने जोखिमको सम्पूर्ण जिम्मेवारी प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिले लिनुपर्ने छ।”

नगरपालिकाको निर्णयलाई बेवास्ता गर्दै नगर क्षेत्रका केही संस्थागत विद्यालय भने आज पनि सञ्चालन भएका छन्। यसअघि लामो समयदेखि अवरुद्ध पठनपाठन मंसिर २१ गतेदेखि सञ्चालन गर्ने नगर कार्यपालिकाले निर्णय गरेको थियो।

विद्यार्थी संख्या, भौतिक पूर्वाधार र कोभिडको प्रभावलाई ध्यानमा राखी सुरक्षा मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन भएका थिए। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट यसअघि जारी गरिएको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ को व्यवस्थाबमोजिम नगरपालिकाले स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गरेको थियो।

शुक्लाफाँटामा हालसम्म एक सय २४ जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमितमध्ये नौजना मात्रै सक्रिय संक्रमित रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भट्टले बताए।

संक्रमितमध्ये दुई जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ। बुधबार मात्रै कोरोना संक्रमितको सम्पर्कमा रहेका ५२ जनाको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरी सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पठाइएको छ। (रासस)

प्रकाशित मिति: १६:०५ बजे, बिहीबार, मंसिर २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्