प्रहरीको लिखित परीक्षा दिने आठ नक्कली परीक्षार्थी पक्राउ
सुर्खेत, मंसिर २५ : लोकसेवा आयोगले लिएको प्रहरीको लिखित परीक्षा दिने आठ नक्कली परीक्षार्थी पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय सुर्खेतले अर्काको नाममा परीक्षा...
सुर्खेत, मंसिर २५ : लोकसेवा आयोगले लिएको प्रहरीको लिखित परीक्षा दिने आठ नक्कली परीक्षार्थी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले अर्काको नाममा परीक्षा दिने नक्कली परीक्षार्थीलाई पक्राउ गरेको हो। लोकसेवा आयोगको कार्यालय सुर्खेतमा प्राविधिक जवान सङ्गीततर्फको परीक्षामा अर्काको परीक्षा दिँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जनाएको छ।
पक्राउ पर्नेमा भगवतीमाई गाउँपालिका–७ दैलेखका कमल विकको स्थानमा परीक्षा दिने २३ वर्षीय तिलक विक, गुराँस गाउँपालिका–२ दैलेख बस्ने रणबहादुर रावललको स्थानमा परीक्षा दिने १९ वर्षीय रामबहादुर कार्की रहेको प्रहरी निरीक्षक कनक शाहीले बताए।
त्यस्तै भगवतीमाई गाउँपालिका–७ दैलेख बस्ने चक्रराज विकको स्थानमा परीक्षा दिने २५ वर्षीय दीपेन्द्र विक, नारायण नगरपालिका–७ दैलेख चन्द्रबहादुर रानाको ठाउँमा परीक्षा दिने चामुण्डा बिन्द्रासैनी नगरपालिका–५ दैलेख २० वर्षीय रमेशप्रसाद न्यौपानेलाई पक्राउ परेका छन्।
भेरी नगरपालिका–१० जाजरकोटका धनबहादुर डाँगीको नाममा परीक्षा दिने वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेका १९ वर्षीय याम पौडेल, पञ्चपुरी नगरपालिका–२ सुर्खेतका यज्ञ बिसीको नाममा परीक्षा दिने १८ वर्षीय उत्तम बिसी, राजापुर नगरपालिका–१० बर्दियाका अर्जुन सुनारको नाममा परीक्षा दिने पञ्चपुरी नगरपालिका–१ सुर्खेतका २० वर्षीय रुद्रप्रसाद शर्मालाई पनि प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले नक्कली प्रशिक्षार्थी मिलाइदिने पञ्चपुरी नगरपालिका–२ सुर्खेतका २१ वर्षीय दीपक कँडेललाई पनि पक्राउ गरेको छ।
मंसिर २० गतेदेखि सुर्खेतमा सञ्चालन भएको प्राविधिक प्रहरी जवान सङ्गीततर्फको परीक्षामा अहिलेसम्म ११ नक्कली परीक्षार्थी पक्राउ परेका छन्। उनीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।











