नेयमारको ह्याट्रिकले इस्तानबुलमाथि पीएसजीको सानदार जित
काठमाडौं, मंसिर २५ : यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समूह ‘एच’को खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इस्तानबुललाई फराकिलो गोल अन्तरले हराएको...
काठमाडौं, मंसिर २५ : यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समूह ‘एच’को खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इस्तानबुललाई फराकिलो गोल अन्तरले हराएको छ ।
पार्क डेस प्रिन्सेसमा भएको खेलमा घरेलु टोलीले इस्तानबुलमाथि ५ १ गोल अन्तरको फराकिलो जित निकालेको हो । पीएसजीको जितमा नेयमारले ह्याट्रिक गर्दा किलियन एम्बापेले दुई गोल गरे । खेलको २१ औं मिनेटमा घरेलु टोलीले नेयमारको गोलमा अग्रता बनाएको थियो।
त्यस्तै ३८ औं मिनेटमा नेयमारले नै किलियन एम्बापेको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए। त्यस्तै खेलको ४२ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै एम्बापेले गोल गर्दा पहिलो हाफमा पीएसजी तीन गोलले अघि रह्यो। दोस्रो हाफमा नेयमारले फेरि अर्को गोल थपे।
उनले ५० औं मिनेटमा एन्जेल डि मारियाको पासमा गोल गर्दै ह्याट्रिक पुरा गर्दा एम्बापेले डि मारियाकै पासमा ६२ औं मिनेटमा गोल थपे। उता इस्तानबुलका लागि मेहमेट तोपालले ५७ औं मिनेटमा सान्त्वना गोल फर्काए।
समूह ‘एच’बाट समान १२ अंक बनाएका फ्रेन्च क्लब पीएसजी र जर्मन क्लब आरबी लाइपजिग अन्तिम १६ मा प्रवेश गरेका छन्।











