Kathmandu Press

राज्य व्यवस्था समिति बैठक : कांग्रेस सांसदहरूले मागे गृहमन्त्री थापाको राजीनामा

काठमाडौं, मंसिर २४ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा माग गरेका छन्। बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा...
राज्य व्यवस्था समिति बैठक : कांग्रेस सांसदहरूले मागे गृहमन्त्री थापाको राजीनामा

काठमाडौं, मंसिर २४ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा माग गरेका छन्। 

बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रतिपक्षी दल कांग्रेसका सांसदहरुले गृहमन्त्री बादलको राजीनामा माग गरेका हुन्। 

बैठकमा गृहमन्त्री बादलले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप गर्ने प्रस्ताव गृह मन्त्रालयबाट नगएको बताएका थिए। त्यसपछि बैठकमा बोलेका कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडुले एआईजीको दरबन्दी थप गर्ने प्रस्तव गृह मन्त्रालयबाट नगएको भए गृहमन्त्रीले नैतिक रुपमा राजीनामा दिनु पर्ने बताए। 

‘आफ्नो प्रस्ताव विपरीत निर्णय हुँदा मन्त्रालय र प्रहरी संगठन चलाउन सक्दिनँ भन्दै राजीनामा दिएको भए समस्याको समाधान भइसक्थ्यो,’ सांसद बडुले भने। उनले गृहमन्त्रीलाई थाहा नै नदिई यस्ता खालका निर्णय हुँदा मन्त्रालय र संगठन मैले चलाउन सक्दिनँ भन्ने बुझेर राजीनामा दिनु पर्ने बताए। 

‘मैले कानून अनुसार ल्याएको, छलफल गरेर ल्याएको मैले मन्त्रालय र संगठन मलाई चलाउन गाह्रो हुन्छ भनेर नैतिक रुपमा बस्दिनँ भनेर राजीनामा गर्नुपथ्र्यो। उहाँले राजीनामा गरेको भए यो सुधार हुन्थ्यो। त्यसकारणले सहमति दिँदै गर्ने हो कि यसलाई करेक्सन गर्ने हो?,’ उनले भने। 

बैठकमा बडुले सकारले गरेको यस्तो त्रुटीले नेपाल प्रहरीको चेनअफ कमाण्ड नै भत्काउने पनि बताएका थिए। 

यस्तै, बैठकमा बोल्दै कांग्रेसकै सांसद डा. अमरेशकुमार सिंहले  गृहमन्त्रीलाई थाहा नै नदिएर एआईजीको पद थप गर्ने निर्णय सरकारले गरेको भए तत्काल राजीनामा दिन सुझाव दिए। “तपाईँ या त राजीनामा दिनुपर्‍यो, या त सरकारको निर्णयप्रति सहमत हुनुपर्‍यो,’’ सिंहले भने। 
 

प्रकाशित मिति: ००:३५ बजे, बिहीबार, मंसिर २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्