विप्लवका नेता शर्मा दशौं पटक पक्राउ, नुवाकोटबाट काभ्रे पठाइयो
त्रिशुली, मंसिर २४ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पाेलिट ब्युराे सदस्य अनिल शर्मा ‘विरही’ अर्थात् छविलाल सापकोटा साधारण तारिखमा छुटेलगत्तै पुनः पक्राउ...
त्रिशुली, मंसिर २४ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पाेलिट ब्युराे सदस्य अनिल शर्मा ‘विरही’ अर्थात् छविलाल सापकोटा साधारण तारिखमा छुटेलगत्तै पुनः पक्राउ परेका छन्।
बेलकोटगढी नगरपालिका–१३ स्थित राजेन्द्र तामाङको स्काभेटरमा भदौ ७ गते राति भएको आगजनी घटनामा संलग्न अभियोगमा उनलाई पुनः पक्राउ गरिएको हो। यस मुद्दामा मङ्गलबार नुवाकोट जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलले साधारण तारिखमा रिहा गर्न आदेश दिएको थियो। उनी अदालतबाट बाहिर निस्के लगत्तै प्रहरीले पक्राउ गरेर काभ्रे पठाएको छ।
मंसिर १८ गते ललितपुरबाट पक्राउ गरेर नुवाकोट ल्याइएका उनलाई मदानपुरको स्काभेक्टर आगजनीमा संलग्नताको ‘भरपर्दो प्रमाण नभएको’ भन्दै अदालतले साधारण तारिखमा रिहा गर्न आदेश दिएको थियो।
चितवनको रत्ननगरका शर्मालाई गत वैशाख २३ मा त्यहाँको प्रहरीले उपचारका क्रममा अस्पतालबाटै पक्राउ गरेको थियो। भदौ २३ गतेसम्म पुर्पक्षका लागि थुनामा रहेको समयमा भदौ ७ मा मदानपुरमा स्काभेक्टर आगजनीमा संलग्नता रहेको दाबी विश्वासिलो नभएको आधारमा शर्मालाई साधारण तारिखमा छाड्ने आदेश भएको थियो।
साधारण तारिखमा छुटेलगत्तै अदालत परिसरबाटै पक्राउ परेका शर्मालाई गए राति नै काभ्रे पठाइएको नुवाकोट प्रहरी प्रमुख तुलबहादुर कार्कीले बताए। उनका अनुसार शर्मालाई काभ्रेमा सङ्गठित अपराध, एनसेल टावर आगजनीलगायतको अभियोग छ।
वैशाख २३ मा चितवनबाट पक्राउ परेका शर्मा भदौ २३ मा त्यहाँबाट छुटेलगत्तै पक्राउ गरेर धनुषा, सुनसरी, भोजपुर, सङ्खुवासभा, मोरङ, काठमाडौं, ललितपुर हुँदै नवौँ जिल्लाको रूपमा नुवाकोट ल्याइएको थियो।
आफूलाई लगाइएको अभियोग कहीँ पनि पुष्टि गर्ने आधार नभएकाले राजनीतिक पूर्वाग्रहीका रूपमा राज्यले झुटा मुद्दा लगाई फसाउन खोजेको उनको भनाइ छ। (रासस)











