ओलीको विकल्प खोज्नु बिजुली सट्टा अगुल्टो खोज्नुजस्तै : मुख्यमन्त्री गुरुङ
काठमाडौं, मंसिर २४ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नु भनेको बिजुलीको सट्टा अगुल्टो खोज्नुजस्तै भएको बताएका...
काठमाडौं, मंसिर २४ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नु भनेको बिजुलीको सट्टा अगुल्टो खोज्नुजस्तै भएको बताएका छन् ।
उदिपुर–रिठ्ठेवगर–रामचोकबेसी–नौथरबेँसी–शेरा कालोपत्र सडकको बेँसीशहर नगरपालिका–११ चितीमा मङ्गलबार शिलान्यास कार्यक्रममा उनले एकीकृत कम्युनिष्ट पार्टी निर्माणको यो अभियानमा दुई अध्यक्षको महत्वपूर्ण योगदान रहेकाले उहाँहरुको संवाद र सहकार्य अपरिहार्य रहेकाले यतिबेला सरकार गिराउने र पार्टी अध्यक्ष परिवर्तन गर्ने समय नरहेको बताए ।
नेकपा स्थायी कमिटीका सदस्य समेत रहेका गुरुङले भने, “यो सरकारलाई जनताले पाँच वर्षका लागि जनादेश दिएका छन्, पार्टी अध्यक्ष हुने हो भने महाधिवेशनसम्म पर्खनुपर्छ । पार्टी एकताको मर्म भनेको अल्पमत र बहुमतको खेल खेल्न होइन ।” मुख्यमन्त्री गुरुङले एकताको मर्म भनेको दुई अध्यक्षले बैठकको एजेण्डा तय गरी सहकार्य र सहमतिमा अघि बढ्दै पार्टी एकताका बाँकी काम सम्पन्न गरी महाधिवेशन गर्नुपर्ने बताए ।
गुरुङले भने, “यो समय प्रचण्डले प्रधानमन्त्रीको राजीनामा र प्रधानमन्त्रीले प्रचण्डको राजीनामा माग्ने बेला होइन, एकले अर्कालाई आरोप लगाउने अधिकार पनि छैन ।” “जनताको जनादेश पाँच वर्षका लागि स्थायी सरकार हो । सरकारले अहिलेसम्म कुनै सरकार र प्रधानमन्त्रीले गर्न नसकेको काम गरेको छ । यो सरकार पाँच वर्ष टिक्छ । राजीनामा माग्नु जनमतको जनादेशविपरीत हुन्छ । जहाँसम्म पार्टी अध्यक्षको कुरा छ त्यो महाधिवेशनले तय गर्छ”, उनले भने । (रासस)











