भ्रष्टाचार प्रधानमन्त्री र मन्त्रीको प्रयासले मात्र नियन्त्रण हुनै सक्दैन् : प्रधानमन्त्री
काठमाडौं, मंसिर २४ : प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार हुनै नदिनु सरकारको प्राथमिकता भएको बताएका छन् ।भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस, डिसेम्बर ९ का...
काठमाडौं, मंसिर २४ : प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार हुनै नदिनु सरकारको प्राथमिकता भएको बताएका छन् ।
भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस, डिसेम्बर ९ का अवसरमा शुभकामना ब्यक्त गर्दै ओलीले वर्तमान सरकार भ्रष्टाचारलाई कडाइका साथ प्रभावकारी रुपमा नियन्त्रण नगरेसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल हुनसक्दैन भन्ने कुरामा स्पष्ट रहेको भन्दै नेपाल सरकार भ्रष्टाचार नियन्त्रणका लागि सबै किसिमका नीतिगत, कानूनी र संस्थागत प्रबन्ध गर्ने कुरामा प्रतिबद्ध र क्रियाशील रहि आएको जिकिर गरेका हुन् ।
भ्रष्टाचार आर्थिक अपराध मात्र होइन, यसले सामाजिक मूल्य मान्यताहरु उपर सिधा प्रहार गर्ने उनको ठहर छ । उनले भनेका छन्, म प्रधानमन्त्री भए लगत्तै म भ्रष्टाचार गर्दिन्, गर्न दिन्न भन्ने भन्ने संकल्पलाई दृढताका साथ लागु गरेको छु । तर हामी सबैलाई थाहा भ्रष्टाचार एक प्रधानमन्त्री वा मन्त्री वा कुनै एक निकायको प्रयासले मात्र नियन्त्रण हुन् सक्दैन्, भ्रष्टाचारलाई सामाजिक रुपमै निन्दा र भत्सर्ना गर्नु जरुरी हुन्छ ।
सेवा प्रवाहमा हुनसक्ने भ्रष्टाचारजन्य क्रियाकलाप नियन्त्रण गर्न सेवा प्रवाहलाई अनलाइन प्रणालीमा लगिएको प्रधानमन्त्री ओलीको भनाइ छ । भ्रष्टाचार नियन्त्रणका लागि पछिल्ला दिनहरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रशंसनीय कामहरु भएको भन्दै आयोगले गत वर्ष आफ्नो इतिहासमै सबैभन्दा बढी भ्रष्टाचारका केसहरुमा मुद्दा दायर गरेको ओलीको दाबी छ ।
आयोगले स्थानीय तहमा हुनसक्ने भ्रष्ट्राचार रोकथाम गर्न ६१ बुँदे निर्देशिका जारी गरेको र भ्रष्टाचारमा सजाय गर्नुभन्दा स्रोतमै नियन्त्रण गर्नु बढी महत्वपूर्ण हुने भएकाले उक्त कदम महत्वपूर्ण कदम भएको ओलीले बताए ।











