रोनाल्डो चम्किँदा बार्सिलोनाविरुद्ध युभेन्ट्सको सानदार जित

काठमाडौ, मंसिर २४ : पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो चम्किएपछि इटालियन क्लब युभेन्ट्सले स्पेनिस क्लब बार्सिलोनामाथि सानदार जित निकालेको छ ।
च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति भएको खेलमा रोनाल्डोले दुई गोल गरेपछि युभेन्ट्सले बार्सिलोनालाई उसकै मैदानमा ३–०ले हरायो । मंगलबार राति क्याम्प नाउमा भएको खेललाई मेसी भर्सेस रोनाल्डोका रुपमा पनि हेरिएको थियो । रोनाल्डो र मेसी ३ वर्षपछि आपसमा भिडेका हुन् ।
रोनाल्डोले रियल मड्रिड छाडेपछि यी दुई आपसमा भिडेका थिएनन् । च्याम्पियन्स लिगको पहिलो लेगमा भने मेसी मात्रै खेलेका थिए । कोरोना संक्रमण भएपछि रोनल्डोले बार्सिलोनाविरुद्धको पहिलो खेल गुमाएका थिए । सो खेलमा बार्सिलोना २–०ले विजयी भएको थियो । मंगलबार राति भएको खेलमा युभेन्ट्सको जितमा रोनाल्डोले २ गोल गरे भने वेस्टन म्याकेनीले एक गोल गरे ।
बार्सिलोनाविरुद्ध युभेन्ट्सले पहिलो हाफमा २ र दोस्रो हाफमा १ गोल गरेको थियो । १३औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए । डिफेन्डर रोनाल्ड अराउजोले रोनाल्डोलाई डिबक्समा लडाएपछि युभेन्ट्सले पेनाल्टी पाएको थियो । २०औं मिनेटमा जुआन क्वाडराडोको पासमा म्याकेनीले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर बनाए । ५१औं मिनेटमा क्लेमेन्ट लङलेटले डिबक्समा ह्यान्ड गरेपछि युभेन्ट्सले पेनाल्टी पायो । सोही पेनाल्टीमा रोनाल्डोले सहज गोल गर्दै युभेन्ट्सलाई सानदार जित दिलाए । योसँगै युभेन्ट्स समूह जीको शीर्ष स्थानमा रह्यो ।
६ खेलमा ५ जित निकालेको युभेन्ट्सको १५ अंक छ । समान अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा छ । बार्सिलोन सन् २००६–०७ पछि पहिलो पटक समूह चरणमा दोस्रो स्थानमा रहेको हो।
मंगलबार राति नै भएका अन्य खेलमा म्यान्चेस्टर युनाइटेड आरबी लेइपजिगसँग ३–२ ले पराजित भयो । लेइपजिगका लागि एन्जेलिनो, अमाडोउ हैदरा र जस्टिन क्लुभर्टले गोल गरे भने युनइटेडका ब्रुनो फर्नान्डेसले १ गोल गरे भने इब्राहिम कोनाटेले आत्मघाती गोल गरेका थिए ।
यस्तै, चेल्सी क्रन्सडोरसँग १–१ गोलको बराबरीमा रोकिँदा बोरुसिया डर्टमन्डले जेनिथलाई २–१ले हरायो ।











