टावरको क्षमताभन्दा सिम बढी वितरण
सिमकोट, मंसिर २३ : हुम्लाको सदरमुकाम सिमकोटमा एक हप्तादेखि नेपाल टेलिकमको टेलिफोन सेवामा समस्या आएको छ। मोबाइलमा नेटवर्क देखाए तापनि पाँच, छ पटक...सिमकोट, मंसिर २३ : हुम्लाको सदरमुकाम सिमकोटमा एक हप्तादेखि नेपाल टेलिकमको टेलिफोन सेवामा समस्या आएको छ। मोबाइलमा नेटवर्क देखाए तापनि पाँच, छ पटक डायल गरेपछि बल्ल घण्टी जाने गरेको, आवाज नसुनिने गरेको र कुराकानी गर्दागर्दै सम्पर्क विच्छेद हुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको छ।
स्थानीयवासी राजबहादुर भण्डारीले भने, ‘मोबाइलमा कुरा गर्दा आवाज स्पष्ट सुनिँदैन। सुनिए पनि बुझिँदैन। बिहान र बेलुका नेटवर्कले केही काम गरे पनि दिउँसो बढी समस्या देखिएको छ।’
नेटवर्कमा आएको समस्या समाधान गर्न पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले जानकारी दिए। अहिले मोबाइल नेटवर्कमा खराबी आएपछि काम गर्न सास्ती भएको छ।
टेलिकमका प्रमुख शिव भट्टराईले जुम्ला र कालीकोट जिल्लामा रहेका रिपिटर टावरमा आएको खराबीले गर्दा भएको समस्या आएको र समाधान गर्न काम भइरहेको जानकारी दिए। टावरको क्षमता कम र सिम बढी वितरण भएको हुँदा पनि यस किसिमको समस्या देखिएको उनको भनाइ छ। हुम्लामा टेलिकमको मात्र नभई निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेलको सेवामा पनि समस्या रहेको छ।