Kathmandu Press

कोरोना महामारीका समयमा नेपालसहित आठ देशमा बालविवाह बढ्दो

महामारीको यो अवस्थामा उनीहरुले रोजगारी गुमाउँदा आम्दानी ठप्प भएको छ र परिवारको सदस्य पाल्न कठिन हुन थालेपछि किशोरीहरुलाई विवाहका लागि दबाब दिने गरेको बताउँछन्।
कोरोना महामारीका समयमा नेपालसहित आठ देशमा बालविवाह बढ्दो

काठमाडौं, कात्तिक ११ : सत्र वर्षीया समिता (नाम परिवर्तन) लमजुङमा बस्छिन्। उनमा पढाइप्रति असाध्यै लगाव छ। 

तर, स्कुल सञ्चालन हुँदा कहिल्यै पनि पूरै घन्टी पढ्न पाइनन्। उनले घरायसी काममा समेत समय दिनुपर्ने हुँदा पूरै कक्षा पढ्न पाएकी थिइनन्। कोरोना महामारीपछि उनको स्कुल बन्द छ। स्कुल बन्द भएपछि उनकी आमाले  छोरीको विवाह गर्ने निर्णय गरिन्। तर, विवाहका लागि समिताको उमेर पुगेकै छैन।

उमेर कम भएपनि समिता र उनकी दुई सहपाठीले लकडाउनकै अवधिमा विवाह गरे। एकातिर पढाइमा अवरोध, अर्कातिर जिन्दगीमा अन्यौल। बालविवाह गरेकाहरुमा स्वास्थ्य समस्या, शोषण र गरिबीको अवस्था देखिएको छ। तथापी लकडाउनकै समयमा नेपालमा बालविवाह बढेको बालअधिकारको क्षेत्रमा काम गर्ने संस्था भीएसओको तथ्याङ्कमा उल्लेख छ।

Hardik ivf

१ सय ५२ जनामा अध्ययन गर्दा ११ जनाको बालविवाह भएको पाइएको संस्थाको भनाइ छ। संस्थाका आनन्द पौडेलका अनुसार कोरोना महामारीको समयमा विभिन्न किसिमका सामाजिक महामारी पनि फैलिएको छ। 

‘महामारीको यो बेलामा आधुनिक समाजमा युवतीले परम्परागत किसिमका समस्या फेरि भोग्नुपर्ने स्थिति आउनु निकै दुःखद् छ। लैङ्गिक समानताका पक्षमा केही प्रगति भएपनि अब ती उपलब्धिका कुनै मूल्य नहुने अवस्था देखिन थालेको छ,’ पौडेलले भने।

तराई तथा पश्चिमका केही पहाडी जिल्लामा भारतमा काम गर्ने परिवारका सदस्यले पठाएको रेमिट्यान्सले घर चलिरहेको छ। महामारीको यो अवस्थामा उनीहरुले रोजगारी गुमाउँदा आम्दानी ठप्प भएको छ र परिवारको सदस्य पाल्न कठिन हुन थालेपछि किशोरीहरुलाई विवाहका लागि दबाब दिने गरेको पौडेल बताउँछन्।

बालबालिकाको अधिकार संरक्षणका क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरुले महामारीको समयमा विद्यालय जान नपाएका गरिब परिवारका बालबालिका अब स्कुल नफर्किने बताएका थिए। युनेस्कोका अनुसार महामारीका कारण विद्यालय बन्द भएपछि विश्वभर ७ करोड ४३ लाख किशोरीहरुलाई पुनः स्कुल फर्किन कठिनाइ छ। यस्ता किशोरीहरुमाथि लैङ्गिक हिंसा र यौन शोषणको जोखिममा रहेको अधिकारकर्मीहरु बताउँछन्। 

‘महामारीका कारण अभिभावकको रोजगारी गुमेको छ। किशोरीहरु परिवारका बोझ भएका छन् यसले बालविवाहलाई बढाएको छ भने लैङ्गिक हिंसा पनि बढाएको छ,’ गर्ल्स नट ब्राइडकी कार्यकारी निर्देशक फैथ वाङ पावल भन्छिन्।

संयुक्त राष्ट्रसंघ जनसंख्या कोषका अनुसार कोभिड महामारीपछि आगामी १० वर्षभित्रमा बालविवहाको संख्या विश्वभर १३ करोड पुग्ने प्रक्षेपण गरेको छ। आठ वटा देशमा २४ हजार किशोरीहरुमा गरिएको संरक्षणमा १२ हजार किशोरीहरु स्थायी रुपमै विद्यालय छोड्ने अवस्थामा रहेको देखिएको छ। यो सर्वेक्षणमा नेपाल, भारत, बंगलादेश, श्रीलंका, कम्बोडिया, भियतनाम, लावस र तान्जनियाका किशोरीहरु सहभागी थिए। सहभागीमध्ये ४० प्रतिशतले महामारीले आर्थिक अवस्था नाजुक बनेका कारण विद्यालय फर्कन कठिन हुने बताएका थिए। 

केही युवतीहरु गर्वभती भएका कारण अब विद्यालय जान नसक्ने परिस्थितिमा पुगेका छन् भने केहीलाई आर्थिक पाटो कारक बनेको छ।  केन्यामा अहिले कम उमेरमै गर्वभती हुने किशोरीहरुको संख्या ४२ प्रतिशतले वृद्धि भएको केयर इन्टरनेशनलको तथ्याङ्क छ।

बालविवाह मात्रै होइन कोभिडका कारण महिला अधिकार बालअधिकारका विविध आयाममा असर पुगेको छ। संयुक्त राष्ट्रसंघको जनसंख्या कोषले सन् २०३० भित्र परिवार नियोजन, लैङ्गिक हिंसा बालविवाह र मातृमत्युदर कम गर्ने सर्न्दभमा अपूरा लक्ष्य पूरा गर्ने योजना बनाएको थियो।

‘कोरोना महामारीका कारण लक्ष्य पूरा गर्न  चुनौती थपिएको छ,’ संस्थाले भनेको छ।  

(गार्जियनमा प्रकाशित सामाग्रीको भावानुवाद)
 

प्रकाशित मिति: २१:३५ बजे, मंगलबार, कात्तिक ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्