आईपिएल : हैदरावादको पहिलो जित, दिल्ली १५ रनले पराजित
काठमाडौं, असोज १४ : युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल) मा सनराइजर्स हैदरावादले पहिलो जित हात पारेको छ । यसअघिका...
काठमाडौं, असोज १४ : युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल) मा सनराइजर्स हैदरावादले पहिलो जित हात पारेको छ । यसअघिका दुवै खेलमा पराजित भएको हैदरावादले मंगलबार राति अबुधाबिमा भएको खेलमा दिल्ली क्यापिटल्सलाई १५ रनले हरायो ।
यसअघिका दुई खेलमा हैदरावाद पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरसँग १० र कोलकाता नाइट राइडर्ससँग ७ विकेटले पराजित भएको थियो ।
टस हारेर पहिला ब्याटिङ गर्दै हैदरावादले दिएको १६३ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १४७ रन मात्र बनाउन सक्यो । उसका लागि शिखर धवनलै सर्वाधक ३४ रन बनाए भने ऋषव पन्तले २८, सिमरन हेटमेयरले २१ रन बनाए ।
दिल्लीलाई सस्तैमा रोक्ने क्रममा रसिद खान, भुवनेश्वर कुमार र टि नटराजनले उत्कृष्ट बलिङ गरे । रसिदले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए भने भुवनेश्वरले २५ रन खर्चेर २ विकेट लिए । यस्तै, नटराजनले २५ रन खर्चेर १ विकेट लिए ।
यसअघि पहिला ब्याटिङ गरेको हैदरावादले जोनी बेइस्ट्रोको अर्धशतक मद्दतमा निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १६२ रन बनायो । बेइस्ट्रोले ४८ बलमा ५३ रन बनाए । यस्तै कप्तान डेविड वार्नरले ३३ बलमा ४५ र केन विलियम्सनले २६ बलमा ४१ रन बनाए । दिल्लीका कागिसो रबाडा र अमित मिश्राले समान २ विकेट लिए ।
दिल्लीले भने पहिलो हारको सामान गरेको छ । उसले पहिलो खेलमा किंग्स इलावेन पञ्जावलाई सुपरओभर र दोस्रो खेलमा चेन्नई सुपर किंग्सलाई ४४ रनले पराजित गरेको थियो ।
हारसँगै दिल्ली तालिकाको दोस्रो स्थानमा झरेको छ । दिल्ली र राजस्थान रोयल्सको समान ४ अंक भएपनि राजस्थान रनरेटमा दिल्लीभन्दा माथि छ । राजस्थानले २ खेलमात्र खेलेको छ । २ अंक जोडेको हैदरावाद पुछारमा छ ।
प्रतियोगितामा बुधबार राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्स भिड्ने छन् । खेल दुबईमा साँझ ७ः४५ बजे सुरु हुने छ ।











