रासायनिक मल व्यवस्थापन र प्राङ्गारिक मलसम्बन्धी कार्यविधि बन्दैछ : मन्त्री चौधरी
उनले प्राङ्गारिक मलका लागि कार्यविधि निर्माण भइरहेको बताउँदै सरकारले नीति र स्रोतका आधारमा मात्रै योजना तथा कार्यक्रम अघि बढाउने बताइन्।
काठमाडौं, असोज १५ : कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले रासायनिक मलको व्यवस्थापनसँगै प्राङ्गारिक तथा जैविक मलको प्रवद्र्धनका लागि सरकारले नीति तथा कार्यविधि निर्माणको काम अघि बढाइरहेको बताएकी छन्।
बिहीबार बसेको कृषि तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै मन्त्री चौधरीले चालु वर्षका लागि रासायनिक मलको वितरण तथा व्यवस्थापनलाई व्यवस्थित गर्ने काम भइरहेको जानकारी दिइन्। नेपालमा हालसम्म रासायनिक मल उत्पादन हुन नसकेकाले अन्तर्राष्ट्रिय बजारमा निर्भर हुनुपरेको र अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावको असर नेपालमा समेत पर्ने उनले बताइन्।
उनले प्राङ्गारिक मलका लागि कार्यविधि निर्माण भइरहेको बताउँदै सरकारले नीति र स्रोतका आधारमा मात्रै योजना तथा कार्यक्रम अघि बढाउने बताइन्।
उनले रासायनिक मलको विकल्पका रूपमा प्राङ्गारिक तथा जैविक मलको प्रयोगलाई अघि बढाउने विषयमा समितिबाट समेत ठोस मार्गदर्शन आवश्यक रहेको बताइन्। समिति बैठकमा हुने छलफललाई आरोप–प्रत्यारोपका रूपमा नभई नीति निर्माणका लागि आवश्यक संवादका रूपमा लिनुपर्ने उनइन्।
मन्त्री चौधरीले कृषि तथा वन क्षेत्रसँग सम्बन्धित दीर्घकालीन नीति निर्माणमा सरकार अघि बढिरहेको बताउँदै नेपालको कृषि र वन क्षेत्रलाई प्रभावकारी रूपमा विकास गर्नुपर्नेमा जोड दिइन्।











